onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा: वडा नम्बर ८ पूर्ण हात धुने वडा घोषित

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ८लाई पूर्ण हातधुने वडा घोषणा गरिएको छ । नेपालमै नमूनाको रुपमा ठाकुरबाबा नगरपालिकामा संचालन भएको पूर्ण हात धुने अभियान अन्तरगत ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ८लाई पूर्ण हात धुने वडा घोषणा गरिएको हो ।

“पूर्ण सरसफाई युक्त पालिकाको अभियान, आ–आफ्नै पहलमा हात धुने स्थान” भन्ने नाराका साथ ठाकुरबाबा नगरपालिकामा पूर्ण हात धुने अभियान संचालनमा रहेको छ । यसभन्दा अघि ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ४ पूर्ण हात धुने वडा घोषित भइ सकेको छ । फोहोर हातको माध्यमबाट लाग्न सक्ने रोगको रोकथामका लागि घरघरमा टुटि र ढक्कन सहितको हात धुने स्थान हुनु पर्ने मापदण्ड सहित पालिका भरि नै हात धुने अभियान संचालनमा रहेको छ ।

पूर्ण हात धुने अभियान अन्तरगत २०८० साल वैशाखसम्म नगरपालिका भित्रका सबै घर, सार्वजनिक तथा निजी सेवा प्रदायक संस्थाहरुमा साबुन पानी सहितको हात धुनेस्थान भएको सुनिश्चित गर्न नगरबासीलाई नगर प्रमुख तिलकराम लम्सालले आग्रह गर्नुभएको छ । पालिकाले लिएको रणनीतिक लक्ष्य र यस अभियानमा सहयोग गर्न सम्पूर्णलाई नगर प्रमुख लम्सालले अनुरोध गर्नुभएको छ ।

हातधुने अभियानका लागि कानुनी, संस्थागत र संरचनात्मक संयन्त्र निर्माण गर्नुपर्ने ठाकुरबाबा नगरपालिकाकी नगर उप-प्रमुख बिना कुमारी भट्टराईले बताउनु भयो । साझेदार र सरोकारवालाहरु पहिचान गरी पैरवी र क्षमता विकास गर्ने, पूर्ण रुपमा हात धुने अवस्था हासिल गरेका टोल, गाउँ, वडा र पालिका घोषणा गर्ने अभ्यासलाई संस्थागत गर्ने लक्ष्य रहेको नगर उप-प्रमुख भट्टराईले बताउनु भयो । उहाँले पूर्ण हात धुने वडा घोषित गर्ने काम भन्दा ठुलो यसलाई नियमित रुपमा व्यवहारिक रुपमा कार्यान्वयन गर्नु रहेकोले सबैले सहकार्य गर्न आग्रह गर्नुभयो ।

नियमित रुपमा साबुन पानीले हात धुने अभ्यास प्रवर्द्धन गरी नगरपालिकाको वडा नम्बर ८ पूर्ण हातधुने वडा घोषित भएको वडा नम्बर ८ का वडा अध्यक्ष टेक बहादुर सिंजापती बडुवालले बताउनु भयो । अभियानलाई सबैले कार्यन्वयन गरेमा मात्र नगरपालिकालाई नेपालकै पहिलो पूर्ण सरसफाई युक्त पालिका घोषणा गर्न सहयोग पुग्ने साझेदार संस्था गेरुवा ग्रामिण जागरण संघका अध्यक्ष कृष्णजंग शाहले बताउनु भयो ।

कार्यक्रममा सरसफाई अभियान्ताहरुलाई प्रशंसा-पत्रले सम्मान समेत गरिएको छ । गेरुवा ग्रामिण जागरण संघ र तेर दे जोम्ससंगको सहकार्यमा ठाकुरबाबा नगरपालिकामा २०७९ भदौ ५ गतेदेखि पूर्ण हात धुने अभियान संचालनमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.