विकास प्रेमी युवा समूहको सहजीकरणमा बारबर्दियामा घर हस्तान्तरण
बालकको पढाइको व्यवस्था नगरपालिकाले गर्ने नगर प्रमुखको प्रतिवद्दता
भुरीगाउँ, बर्दिया : विकास प्रेमी युवा समूहको सहजीकरण तथा दाताहरूको सहयोगमा बारबर्दिया नगरपालिका–१, श्रीलंका टोलमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । विकास प्रेमी युवा समूह बारबर्दिया नगर कमिटीले स्थानीय बालक डेबिट नेपालीको घर निर्माण गरि हस्तान्तरण गरेको हो । शनिबार एक कार्यक्रम आयोजना गरि बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुबाट सम्बन्धित परिवारलाई घर हस्तान्तरण गरिएको छ ।
आफ्ना बुवासंग गाउँमा बस्दै आएका नेपालीको आर्थिक अवस्था कमजोर भएका कारण केही मनकारी गाउँलेहरुले १० धुर क्षेत्रफलको जग्गा उपलब्ध गराएर केही महिना अघि घर निर्माणको लागि सहयोग गरेका थिए । घर निर्माणको कार्य थालनी भए पनि विभिन्न कारणले घरको निर्माणकार्य सम्पन्न हुन नसकेर लामो समय अलपत्र अवस्थामा रहेको देखेपछि विकास प्रेमी युवा समूहको बारबर्दिया कमिटीले विभिन्न दाताहरुको सहयोगमा घर निर्माणकार्य सम्पन्न गरेको हो ।
घर हस्तान्तरण कार्यक्रममा बोल्दै बारबर्दियाका नगर प्रमुख छविलाल थारुले यस विषयमा आफुलाई हालसम्म जानकारी नरहेको र अबको समयमा नगरपालिकाबाट हुन सक्ने सहयोग उपलब्ध गराउने बताउनु भयो । बालकको पढाइको व्यवस्था नगरपालिकाले गर्ने प्रतिवद्दता समेत नगर प्रमुखले गर्नु भएको छ । नगरपालिकाले गर्नुपर्ने काममा समूहले सहयोग गरिदिएको भन्दै नगर प्रमुख थारुले विकास प्रेमी युवा समूहलाई धन्यवाद समेत दिनु भयो ।
परिवर्तन सम्भव छ तर सुरुवात ‘म’बाट हुनुपर्छ नाराका साथ संचालित युवा समूहले आर्थिक अभावका कारण लामो समयदेखि कष्टकर दैनिकी बिताउँदै आएका नेपालीको जीवनस्तर सुधारका लागि घर निर्माणमा सहकार्य गरेको विकास प्रेमी युवा समूह बारबर्दिया संयोजक गंगाराम पाठकले बताउनु भयो । समूहले नेपालीको अवस्थाको अनुगमन गरी दाताहरुको सहयोगमा घर निर्माण गरेको पाठकले जानकारी दिनुभयो । देश तथा विदेशमा रहेर विकास प्रेमी युवा समूहलाई निरन्तर सहयोग गर्ने सम्पूर्णलाई पाठकले धन्यवाद समेत दिनुभयो ।
घर नहुँदा घाम, पानी तथा चिसोको कारणबाट नेपाली परिवारले कष्टकर जीवन बिताइरहेको थाहा पाएपछि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने सोंचाइबाटनै समूहले घरको निर्माणमा सहकार्य गरेको समूहका जिल्ला संयोजक गोपाल निरौलाले बताउनुभयो । स्थानीय सहयोगी दाताहरुले सुरुवात गरि विभिन्न कारणवश निर्माण सम्पन्न हुन नसकेर केही समयदेखि अधुरो अलपत्र अवस्थामा रहेको घरको निर्माणकालागि समूहले सहकार्य गर्दै केहि दाताहरुको आर्थिक सहयोगमा घरको निर्माण सम्पन्न गरि हस्तान्तरण गरिएको निरौलाले जानकारी दिनुभयो ।