भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा केन्द्रिय कार्यालय रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रमको आयोजना गरि आफ्नो १७औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसका अवसरमा संस्थाले सदस्य सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सदस्य सम्मान कार्यक्रममा नियमित बचततर्फ १६ जना, उत्कृष्ट शेयर सदस्यतर्फ ५ जना, असल कर्जाग्राही सदस्य १५ जना, अधिकतम शेयर खरिदकर्ता सदस्य ४ जना, उत्कृष्ट बाल बचतकर्ता १५ जना र जेष्ठ नागरिक शेयर सदस्य ६ जनालाई सम्मान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर थापाले जानकारी दिनुभयो ।
यस्तै अधिकतम् खाता सञ्चालनतर्फ चित्रकला थापा तथा उत्कृष्ट कर्मचारीतर्फ सन्जु थारु, उत्कृष्ट सञ्चालकतर्फ संस्थाका अध्यक्ष नवराज न्यौपाने, सेवा केन्द्र व्यवस्थापन उप-समितिका पदाधिकारी ३५ जना र पूर्व सञ्चालक समितिका पदाधिकारी ७ जनालाई सम्मान गरिएको प्रमुख कार्यकारी अधिकृत थापाले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी रहनु भएका लुम्बिनी प्रदेशसभा सदस्य जन्मजय तिमिल्सिनाले समाज परिवर्तनका लागि पहिले आफुबाटै परिवर्तनको सुरुवात गर्दै समाजलाई परिवर्तन गर्ने प्रयास गर्नुपर्ने बताउनु भयो ।
संस्थाका अध्यक्ष नवराज न्यौपानेले सदस्यहरुको साथ र सहयोग बिना सहकारी पूर्ण हुन नसक्ने बताउँदै सदस्यहरुको साथले नै हाम्रो मध्यवर्ती साकोस यहाँसम्म आएको बताउनु भयो ।
हाम्रो मध्यवर्ति साकोसका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।