मैनापोखर, बर्दिया : बढैयाताल गाउँपालिका वडा नम्बर ८ को कार्यालयले वडाका व्यवसायीक कृषकहरुलाई सिंचाइ पाइप वितरण गरेको छ । वडाको लक्षित कार्यक्रम अन्तरगत व्यवसायीक तरकारी पेशामा आवद्ध कृषकहरुलाई सिंचाइ पाइप वितरण गरिएको हो ।
बढैयाताल गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलेले कृषि व्यवसायमा प्रोत्साहन गर्न वडाले निःशुल्क रुपमा पाइप बितरण गरेको बताउनु भयो । परम्परागत कृषि पेशालाई आधुनिक प्रविधिमा जोड्दै कृषि पेशालाई आर्थिक समृद्धिको मुख्य आधार बनाउनु पर्नेमा जोड दिनुभयो ।
वडा नम्बर ८ अन्तरगत मयुर बस्ती, मुनाल बस्ती, नयाँ बस्ती, कण्ठपुर, तिलकाना र पशुपति बजार लगायतका स्थानीय युवा देखि जेष्ठ नागरिकसम्मका महिला तथा पुरुष व्यवसायीक कृषि पेसामा आवद्ध भएका छन् । स्थानीय सरकारले कृषि पेशालाई मर्यादित र सम्मानित पेशामा रुपान्तरण गर्दै बेरोजगार युवाहरुलाई कृषि पेशामा आवद्ध गराउनु पर्ने वडा अध्यक्ष पौडेलले बताउनु भयो ।
स्वरोजगारको सिर्जना गर्न र सिजन अनुसार बीउ, मल र सिंचाइ व्यवस्थाको सुनिश्चितता गर्न रणनीतिक योजना बनाउनु पर्ने कृषकहरुले माग गरेका छन् । खेती गर्ने समयमा मल खोज्न सिमा पारी पुग्नु पर्ने अवस्थाको अन्त्य गर्न समेत कृषकहरुले आग्रह गरेका छन् ।
वडामा सक्रिय रुपमा तरकारी खेति गर्दै आएका २४ जना कृषकहरुलाई दुई लाख मुल्य बराबरको सिंचाइ वितरण गरिएको हो । २ कट्ठादेखि ७ कट्ठासम्म १ रोल र ८ कट्ठादेखि माथि तरकारी खेति गर्दै आएका कृषकहरुलाई २ रोल सिंचाइ पाइप उपलब्ध गराइएको वडा सचिव स्वस्तिका पौडेलले जानकारी दिनुभयो ।