भुरीगाउँ, बर्दिया : पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आइतबार विश्व पानी दिवस देशैभरी मनाइएको छ । ३० औं विश्व पानी दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका-१, भुरीगाँउमा एक कार्यक्रमको आयोजना गरिएको छ ।
जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोग लगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन पूर्ण हातधुने अभियान अन्तरगत ठाकुरबाबा नगरपालिका र सरसफाई सम्बन्धी काम गर्ने संघ-संस्थाहरुको साझेदारीमा कार्यक्रमको आयोजना गरि विश्व पानी दिवस मनाइएको हो ।
ठाकुरबाबा नगरपालिका १ नम्बर वडा कार्यालयको आयोजना तथा गेरुवा ग्रामीण जागरण संघ, बेस बर्दिया, तेर दे जोम्स र वाटर एडको समन्वयमा कार्यक्रमको आयोजना गरिएको वडा नम्बर १ का वडा सचिब केशव खनालले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका नेउलापुर स्वास्थ्य चौकी प्रमुख राजेन्द्र सुवेदीले पानी र मानव जातिको सम्बन्ध नङ र मासुको जस्तो भएको र पानी बिनाको जीवन कल्पना समेत गर्न नसकिने भएकाले पानीको उचित तरिकाले प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
नेउलापुर स्वास्थ्य चौकी प्रमुख सुवेदीले पानीमा सुक्ष्म किसिमको जीवाणु हुने र नाङ्गो आँखाले ती जीवाणु देख्न नसकिने भएकाले पानीलाई शुद्धिकरण गरेर मात्र पिउनुपर्ने बताउनु भयो । पानीको उचित तरिकाले प्रयोग नगरेमा झाडापखला, आँउ, हैजा, जन्डिस, जुका, जिआरडियास, रगतमासी लगायत प्राण घातक रोगहरु लाग्न सक्ने भएकाले रोगहरुबाट बच्नका लागि सावधानी अपनाउँदै पानीको सुरक्षित प्रयोग गर्नुपर्ने सुवेदीले बताउनु भयो । सम्पन्न कार्यक्रममा सहभागिहरुलाई पूर्ण हातधुने अभियानको विषयमा जानकारी गराउनुका साथै सामुदायिक अभियन्ताहरुलाई प्रशिक्षण समेत दिइएको छ ।
बर्दिया जिल्लाका १६ वटा संस्था, १० वटा स्वास्थ्य चौकी र ६ वटा विद्यालयहरुमा खानेपानीको अवस्थाका विषयमा गरिएको परिक्षणमा हेण्डपम्मको पानी खान योग्न नरहेको र शुद्धीकरण गर्नुपर्ने आवस्यकता देखिएकोले त्यसलाई पछि विभिन्न तरिकाले शुद्धीकरण गरेर खान योग्य बनाइएको गेरुवा ग्रामीण जागरण संघ, बर्दियाका जिल्ला कार्यक्रम संयोजक देबेशराज गिरीले जानकारी दिनुभयो ।
विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्र संघीय वातावरण तथा विकास महासभाले सन् १९९२ को मार्च २२ तारिखमा विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।