बर्दिया, बाँके र कैलालीमा ४ वर्षमा पाटे बाघको आक्रमणबाट ३५ जनाको ज्यान गयाे
भुरीगाउँ, बर्दिया : मधुवन नगरपालिकामा पाटे बाघको आक्रमणबाट साेमबार दिउँसो दुई जना महिलाको ज्यान गएकाे छ ।
मधुवन नगरपालिका ५ काे चिराैति सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट मधुवन नगरपालिका वडा नम्बर ५ कि ५० वर्षिया धनसरा गुरुङ्ग र ५५ वर्षिया समुन्द्री बुढाक्षेत्रीकाे ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक प्रमुख दाेर्ण शर्माले जानकारी दिनुभयो ।
विहान घाँस काटन सामुदायिक वनमा गएका अबेरसम्म पनि नफर्किएपछि खाेजी गर्ने क्रममा बाघको आक्रमणबाट मृत्यु भएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
पाटे बाघको आक्रमणबाट बर्दिया, बाँके र कैलालीमा झन्डै चार वर्षको अवधिमा याे संगै ३५ जनाकाे ज्यान गएकाे राष्ट्रिय प्रकृति संरक्षण काेष बर्दियाका प्रमुख डा. रबिन कडरियाले जानकारी दिनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा, बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा यसैगरी बर्दिया, बाँके र कैलालीका राष्ट्रिय वन र सामुदायिक वनमा पाटे बाघकाे आक्रमणबाट ३५ जनाको ज्यान गएकाे उहाँले बताउनुभयो ।
निकुञ्ज र राष्ट्रिय वनमा गरि सबैभन्दा धेरै बर्दियामा २७ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका छन् । बाँकेमा निकुञ्ज र राष्ट्रिय वनमा ७ जना र कैलालीमा सामुदायिक वनमा १ जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण काेष बर्दियाका प्रमुख डा. रबिन कडरियाका अनुसार पाटे बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १५ जना, बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ३ जनाकाे ज्यान गएको छ । बर्दियाको राष्ट्रिय वन र सामुदायिक वनमा १२ जना, बाँकेकाे राष्ट्रिय वन र सामुदायिक वनमा ४ जना र कैलालीकाे सामुदायिक वनमा १ जनाकाे ज्यान गएकाे छ ।
गत वर्षदेखि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण काेष लगायतका विभिन्न संस्थाले निकुञ्जकाे मध्यवर्ती क्षेत्र आसपासका स्थानीयबासिन्दाहरुका लागि मानविय व्यवहार परिवर्तन विषयक अभियान सुरु गरेपछि निकुञ्ज र सामुदायिक वन भित्र प्रवेश गर्ने क्रम घटेसंगै बाघ आक्रमणका घटना पनि कम भएको छ । नेपाल भारत सिमा क्षेत्रमा पर्ने राष्ट्रिय वन र सामुदायिक वन आसपासका क्षेत्रमा स्थानीय बासिन्दाहरु घाँस, दाउरा लिन जाने क्रममा बाघ आक्रमणका घटना हुने गरेको प्रहरीले जनाएको छ ।
यसैबीच बर्दिया क्षेत्र नम्बर २ काे १ का लुम्बिनी प्रदेशसभा सदस्य (सांसद) जन्मजय तिमिल्सिना र मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले बाघ आक्रमणबाट साेमबार दिउँसो दुई जना महिलाको ज्यान गएको घटना प्रति दु:ख व्यक्त गर्दै मान्छे मार्ने बाघलाई तत्काल नियन्त्रणमा लिन र बाघ आक्रमणका घटना राेक्न विशेष अभियान चलाउन आग्रह गर्नुभएको छ ।
यसैबीच बर्दिया र सुर्खेतकाे सिमानामा पर्ने चेपाङमा पनि याे आर्थिक वर्षमा २ जनाकाे ज्यान गएकाे थियाे ।