onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा दूरसञ्चार सेवाको अनुगमन र गुणस्तरका बारेमा अन्तरक्रिया

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा दूरसञ्चार सेवाको अनुगमनसंगै दूरसञ्चार सेवाको विकास र विस्तार : अवसर तथा चुनौती विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिकामा नेपालका टेलिकमहरुले उपभोक्ताहरुलाई दिँदै आएको सेवा फोन र इन्टरनेटको गुणस्तर अनुगमन गर्न आएको टोलीले नगरपालिकामा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले नेपालमा दूरसञ्चार प्राधिकरणले दिइरहेको सेवाका बारेमा अनुगमनसंगै काठमाडौँ उपत्यका बाहिर पनि दूरसञ्चार सेवाको बारेमा आम जनताहरुलाई सुसूचित गराउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले टेलिफोन, मोबाइल र इन्टरनेटको क्वालिटीका बारेमा आम जनताको धारणा बुझ्नका लागि र दूरसञ्चार सेवा प्रदायकहरूले दिने सेवा र गुणस्तरको सम्बन्धमा जानकारी समेत गराउनुभयो ।

ठाकुरबाबा नगरपालिकाका जनप्रतिनिधिहरुले टेलिकमको मोबाइल सेवा र इन्टरनेट सेवाको गुणस्तरका बारेमा गुनासो पोखेका थिए । नगरका विभिन्न वडाका गाउँमा मोबाइलमा नेटवर्क नआउने, अझैँ पनि नेटवर्कका लागि अग्लो ठाउँ अथवा रुखमा चढ्नु पर्ने, एउटै स्थानमा पनि कुनै बेला थ्रिजी र कुनै बेला फोरजी चल्ने र विभिन्न कम्पनीका इन्टरनेट सेवा पनि गुणस्तरीय नभएको गुनासो गरेका थिए ।

अनुगमनका गर्न आएको दूरसञ्चारको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणका टोली समक्ष मोबाइल फोन सेवा र इन्टरनेट सेवाको गुणस्तरका बारेमा सहभागी कर्मचारी र जनप्रतिनिधिहरुले गुनासो तथा सुझाव राखेका थिए । नेपाल टेलिकमसहित दूरसञ्चार सेवा प्रवाह गर्ने निकायहरूको सेवा गुणस्तरीय हुन नसकेको सहभागीहरुले गुनासो पोखेका छन् । दूरसञ्चार सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रभावकारी नियमन नगर्दा सेवाग्राहीहरुले अझै गुणस्तरीय दूरसञ्चार सेवा प्राप्त गर्न नसकेकोसमेत सहभागीहरुले गुनासो पोखेका हुन् ।

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो समय टेलिकमहरुले प्रदान गर्ने फोन तथा इन्टरनेट सेवाका बारेमा समस्या तथा सुझाव लिने र जानकारी दिने गरि कार्यक्रम गरेकोमा धन्यवाद दिँदै दूरसञ्चार सेवा प्रदान गरिसकेपछि देखिएका समस्याहरुको पहिचान गरी समस्यालाई सुधार गर्न सुझाव दिनुभयो । टेलिकमले प्रदान गरेको सेवालाई कसरी चुस्त, दुरुस्त बनाउन सकिन्छ र त्यसलाई कसरी सबै क्षेत्रमा विस्तार गर्न सकिन्छ, त्यसतर्फ पनि टेलिकम कम्पनीहरुले ध्यान पुर्याउनु पर्ने र अनुगमन गर्न पनि उहाँले सुझाव दिनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजना अन्तरगत ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय, क्याम्पस, स्वास्थ्य चौकी, धार्मिकस्थल, कृषि केन्द्र, पर्यटकीय केन्द्र, प्रत्येक वडालगायतका सार्वजनिक ठाउँमा इन्टरनेट सेवाको पहुँच पुर्याउन सुरु गरेपनि बर्दियाका अधिकाँश पालिकामा सहज हुन सकेको छैन । दूरसञ्चार सेवा सुधारदेखि गुणस्तरका बारेमा उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले भन्नुभयो “ठाकुरबाबा नगरपालिकामा दूरसञ्चार सेवाका समस्या बुझ्न र समाधान गर्न अनुगमनमा आएका हौँ” सेवाको गुणस्तर सुधार गर्दै प्रभावकारी बनाउन प्राधिकरणले आवश्यक भूमिका निर्वाह गर्ने बताउँदै आगामी २०८० साल बैशाख १ गतेदेखि दूरसञ्चार सम्बन्धि कुनै पनि गुनासो भएमा तत्काल जानकारी गराउन पनि आग्रह गर्नुभयो ।

दूरसञ्चार कम्पनीको मोबाइल सेवाको गुणस्तर कतै कमजोर भएको र इन्टरनेट सेवा पनि कमजोर भएको ठाकुरबाबा नगरपालिकाका जनप्रतिनिधिहरुबाट गुनासो आएकाले आउँदा दिनहरुमा पनि नेपाल दूरसञ्चार प्राधिकणलाई सुझाव दिँदै दूरसञ्चार सेवा कस्तो छ ? कसरी सुधार्ने ? सुझाव दिनुहुन नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले आग्रहसमेत गर्नुभएको छ ।

अन्तरक्रिया कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल तथा विभिन्न वडाका वडाध्यक्षहरु, सदस्यहरु, कर्मचारीहरु र नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्य, उप-निर्देशक निराजन कोइरालासहित प्रदिप चापागाईँ, टेक बहादुर खड्का लगायतको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.