भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले छैठौं स्थापना दिवस मनाएको छ । ठाकुरबाबा नगरपालिकाको कार्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरी नगरपालिकाले छैठौं स्थापना दिवस मनाएको हो । विक्रम संवत् २०७३ फागुन २७ गते साविकको बगनाहा गा.वि.स. र नेउलापुर गा.वि.स. मिलेर बनेको बबई नगरपालिकामा शिवपुर गा.वि.स. र ठाकुरद्वारा गा.वि.स. मिलाएर ठाकुरबाबा नगरपालिकाको स्थापना भएको थियोे ।
स्थापना दिवसका अवसरमा नगरपालिकाले नगरभित्रका विभिन्न संघ तथा संस्थाहरुसंगको समन्वय र सहकार्यमा विभिन्न कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । हिजो शुक्रबार ठाकुरबाबा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपूर्ण फुटबल खेल तथा नगरभित्रका विद्यालय, संघ–संस्थाका र नगरपालिकाका कर्मचारीहरुको सहभागितामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको ठाकुरबाबा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुदिपसिंह सुनारले जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिकाले स्थापना दिवसका अवसरमा नगर भित्रका विभिन्न स्थानहरुमा सरसफाई समेत गरेको छ । आज नगरपालिकाको कार्यालयमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरबाबा नगर उप–प्रमुख बिना कुमारी भट्टराईले इमान्दारिता र पारदर्शिता आजको चुनौतीको रुपमा देखिएकाले यस्ता चुनौतीहरुलाई अवसरको रुपमा प्रयोग गर्नुपर्ने बताउनु भयो ।
नगर उप–प्रमुख भट्टराईले नगरबासीको आवश्यकता र चाहनाहरु पुरा गर्नका लागि प्रदेश र केन्द्र सरकारसंग समन्वयात्मक रुपमा कार्यक्रमहरु सञ्चालन भई रहेको बताउनु भयो । साझा समस्या र जनजिविकाको सवालमा ठाकुरबाबा नगरपालिकालाई दलिय राजनीतिको खिचातानीबाट माथी उठेको नगरपालिकाको रुपमा स्थापित गराउनु पर्ने जिम्मेवारी पनि आफुहरुको काँधमा रहेको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अथिती रहनु भएका लुम्बिनी प्रदेशसभा सदस्य जन्मजय तिमिल्सिनाले ठाकुरबाबा नगरपालिकामा रोजगारीको पर्याप्त आवसर सिर्जना गर्नका लागि आवश्यक पर्ने स्रोत जुटाउने कार्यमा आफ्नो साथ रहने बताउनु भयो । एकअर्कालाई टिका–टिप्पणी गरेर ठाकुरबाबाको भविष्य निर्धारण गर्न नसकिने भएकाले सबै राजनीतिक दलहरु एकैठाउँमा बसेर साझा अवधारणका साथ अघि बढेमा मात्र गन्तब्यमा पुगिने लुम्बिनी प्रदेशसभा सदस्य तिमिल्सिनाले बताउनु भयो । नेर्तत्व परिवर्तन भए पनि ठाकुरबाबा नगरपालिकाको समस्या सबैको साझा समस्या भएकाले सबैले सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
रक्तदान शिविरमा १२३ पिन्ट रगत संकलन
आज शनिबार नगरपालिका तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज, ठाकुरबाबा नगर समिति, भुरीगाउँको आयोजना, नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र नेपालगञ्ज, बाँकेको प्रविधिक सहयोग तथा ठाकुरबाबा नगरपालिका भित्र केन्द्रिय कार्यालय रहेका सहकारीहरुको समन्वय र ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नेपाल रेडक्रस सोसाइटी – ठाकुरबाबा उप–शाखा, रेडियो टाइगर, विकास प्रेमी युवा समूह, नारी एकता शक्ति केन्द्र, लायन्स क्लब अफ भुरीगाउँ लगायतका संघ–संस्थाहरुको सह–आयोजनामा बृहत रक्तदान शिविर सम्पन्न गरेको छ ।
शिविरमा १०५ जना पुरुष र १८ जना महिला गरी १२३ जनाले रक्तदान गरेको ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर राजवंशीले जनकारी दिनुभयो । रक्तदान शिविर सञ्चालन गर्नाले स्वास्थ्यप्रति संवेदनशीलता एवम् नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे बोध हुने नगरप्रमुख तिलकराम लम्सालले बताउनु भयो ।
‘वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला’ सम्पन्न
नगरपालिकाको स्थापना दिवसका अवसरमा रोजगारीको खोजीमा रहेका युवा जनशक्ति र रोजगारदातालाई एकै स्थानमा सहभागि गराई आ–आफ्नो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउने उद्देश्यले ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला’ समेत सम्पन्न भएको छ ।
नेपाल सरकारको समृद्द नेपाल, सुखी नेपाली अभियानलाई सहयोग पुर्याउने उद्देश्य सहित समुन्नत ठाकुरबाबा, सबल नगरबासी नारा सहित नगरभित्रका जनशक्तिलई स्थानीय उद्योग, व्यवसाय, बैंकिङ्ग, पर्यटन, होटल व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पुर्याउनका वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला आयोजना गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुनारले जानकारी दिनुभयो ।
रोजगार मेलामा २९ वटा जानकारी मुलक स्टलहरु राखिएका थिए । मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार, सुचनाप्रविधी, घरेलु उद्योग, सहकारी र सामुदायिक विद्यालयले आआफनो सुचनामूलक स्टल राखेका थिए । रोजगार मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा, सीपमुलक तालीम दिने संस्थाहरुको प्रदर्शनी, तालिमबारे जानकारी गराइएको थियो । रोजगार मेलाबाट विद्यार्थीहरु तथा युवाहरुले वृत्ति परामर्श सेवा, बेरोजगार युवाहरुले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारीका अवसर, उद्योग तथा व्यवसायीहरुले उपलब्ध जनशक्ति बारे जानकारी, बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेका उद्योग तथा व्यवसायसँग उपलब्ध विभिन्न रोजगारीका अवसरहरु बारे जानकारी पाउनुका साथै तालिम प्रदायक संस्थाबाट प्रदान गरिने सीपमुलक तालिम र अवसरका बारेमा जानकारी प्राप्त गरेको नगर उप-प्रमुख बिना कुमारी भट्टराईले बताउनु भयो ।
सम्पन्न रोजगार मेलामा ७ जनालाई रोजगारदातासंग जोडेर रोजगारी उपलब्ध गराइएको निमित्त प्रमुख प्रशासकिय अधिकृत सुनारले बताउनुभयो । यो कार्यक्रम ठाकुरबाबा नगरपालिका भन्दा अगाडी देशका अन्य तीनवटा पालिकाहरुमा सफलता पूर्वक संचालन भएको उहाँले जानकारी दिनुभयो ।
दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनामा स्विजरल्याण्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोगमा आयोजना गरिएको एक दिने वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा, सीपमुलक तालीम दिने संस्थाहरुको प्रदर्शनी, तालिमबारे जानकारी उपलब्ध गराइएको छ । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनामा स्विजरल्याण्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोगमा मेला आयोजना गरिएको थियो । ठाकुरबाबा नगरपालिकाको स्थापना दिवस कार्यक्रममा गेरुवा ग्रामिण जागरण संघ, बर्दियाले हेल्पडेस्कको स्थापना गरी विभिन्न सेवाहरु प्रदान गरेको थियो ।
ठाकुरबाबा नगर अस्पतालमा २४सै घण्टा ईमरजेन्सी सेवा सुरु
ठाकुरबाबा नगरपालिकाले छैठौं स्थापना दिवसका अवसरमा आजदेखि नगर अस्पताल नेउलापुरमा २४सै घण्टाको ईमरजेन्सी स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ । स्थापना दिवसको अवसर पारेर २४सै घण्टा उपलब्ध हुने गरी ईमरजेन्सी स्वास्थ्य सेवाको नगरप्रमुख तिलकराम लम्सालले उद्घाटन गर्नु भएको छ ।
नगर अस्पतालबाट आकस्मिक विरामी जाँच सेवा २४सै घण्टा उपलब्ध हुनेछ भने, दैनिक विरामी जाँच सेवा (ओपिडी), प्रयोगशाला अन्तरगत सिकलसेल, जिनएक्सपोर्ट, रगत, दिशा, पिसाब, खकार लगायत सम्पूर्ण जाँच हुने नगर प्रमुख लम्सालले जानकारी दिनुभयो । अन्य सेवाहरुमा भिडियो एक्सरे सेवा, रेविज विरुद्दको ए.आर.भी. भ्याक्सिन सेवा, इ.सी.जी. सेवा संगै नेपाल सरकारबाट प्राप्त हुने निःशुल्क औषधी वितरण तथा मानसिक स्वास्थ्य उपचार र मनोपरामर्श सेवा उपलब्ध हुनेछ ।
२४सै घण्टा उपलब्ध हुने ईमरजेन्सी सेवाको उद्घाटन गर्दै नगर प्रमुख लम्सालले ठाकुरबाबा नगरपालिकाबासीलाई नगर अस्पतालबाट गुणस्तरीय सेवा लिनका लागि आग्रह गर्नु भएको छ । पालिकामै नगर अस्पताल सञ्चालन भएसंगै नगरबासीहरुलाई ईमरजेन्सी सेवाको लागि निजी तथा जिल्ला बाहिरका स्वास्थ्य संस्थामा सेवा लिन जानुपर्ने बाध्यता हट्ने विश्वास लिएको नगरपालिका प्रशासनले जनाएको छ ।