onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

कैलाशबाबा मन्दिरको प्रचारका लागि समाधी

Sambad ADD long

बर्दिया : मधुवन नगरपालिका वडा नम्बर १ डल्ला गाउँमा रहेको कैलाशबाबा मन्दिरमा एक बाबा ७ दिनका लागि समाधी (ध्यान)मा बस्नु भएको छ । माघ २९ गते देखि समाधीमा बस्नु भएका उहाँ फागुन ६ गते शनिबार शिवरात्रीका दिन बाहिर निस्कने जनाइएको छ ।

मान्छे पुरिने खाल्डो भित्र पराल ओछ्याएर अर्धनग्न रुपमा खरानी घसेर उहाँ सो खाल्डो भित्र समाधीमा पस्नु भएको हो । समाधी स्थलमा माथीबाट काठको फलिकामा कपडाराखी माटोले पुरिएको छ । यस अवधिसम्म उहाँले खाना तथा पानी केहि पनि नखानु भएको स्थानीयले जनाएका छन् । उहाँले कसैलाई पनि आफ्नो दर्शन नदिएको बताइएको छ । समाधीमा जानुभएका उहाँले साथमा डमरु लिएर गएको र बेलाबेलामा डमरु बजाएर आफु स्वस्थ्य र समाधीथलमा सकुसल भएको जानकारी गराउने गरेको प्रत्यक्षदर्शी सुमि योगीले बताउनुभयो ।

कैलाशबाबा मन्दिरलाई अन्यत्र पनि परिचित गराउने साथै ठूलो मन्दिरको रुपमा परिणत गर्ने योजना रहेको जनाइएको छ । झण्डै ५ कठ्ठा क्षेत्रफलमा फेलिएको मन्दिर हाल सामान्य सरंचनामा रहेको छ । मन्दिर परिसरमा ३ वटा शिवलिङ्ग, हवनकुण्ड, तुलसीमठ, नौ ग्रह, विवाह मण्डप, कालभैरव र शनिदेव, कैलाश पर्वत, ढुगेंधारा, माछा पोखरी, कमलको फूलमा शिवजीको डमरु, नागदेवता, नन्दीबाबा एवम् अग्नीधुनीको निर्माण कार्य शुरु भएको छ । निर्माणाधिन संरचनाहरु तयार भए पछि सो स्थानमा बृद्दाआश्रम, सुधारगृह, विवाहभोज स्थल पनि बनाउने योजना रहेको स्थानीय मगंल थारुले बताउनु भयो ।

मन्दिर कहिले स्थापना भएको भन्ने कुनै शिलालेख तथा जनाकारी नभए पनि केहि बयोबृद्द स्थानीयहरुले आफुहरुले सानोबाट नै सो स्थानमा मन्दिर हरेको देखेको र पूजापाठ गर्ने गरेको जनाएका छन् । बयोबृद्दहरुको भनाइको आधारमा कम्तिमा ७०/८० साल पहिला पनि मन्दिर अस्तित्वमा रहेको र सो भन्दा पनि पुरानो हुन सक्ने स्थानीयले बताएका छन् । पुरानो मन्दिर भए पनि हालसम्म उभित संरचनाको निर्माण हुन नसक्नु दुःखद् भएको स्थानीय रोशन रावलले बताउनु भयो ।

यस मन्दिरमा माघीपर्व तथा शिवरात्रीमा विशेष पुजा हुने गर्दछ । यस पटक शिवरात्रीकै दिन समाधीमा जानुभएका बाबा आफ्नो ध्यानसमाधीबाट बाहिर निस्कने हुनाले त्यसदिन भक्तजनहरुको ठुलो भिड लाग्ने स्थानीयले अनुमान गरेका छन् । कैलाशबाबा मन्दिर संरक्षणको पर्खाइमा रहेको छ, सम्बन्धित पक्षले मन्दिरको संरक्षण र प्रचार गर्न सके धार्मिक पर्यटकिय क्षेत्रको रुपमा अगाडी बढ्न सक्ने स्थानीहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.