काठमाण्डौ : इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन यहि शनिबार नेपालगन्जको पासाङ्ग ल्हामु रोेडमा रहेको ब्राइट ल्यान्ड कलेजमा हुने भएको छ ।
अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुल्ने आधिकारिक कागज लिएर आउनु पर्ने र अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनपर्ने आयोजक संस्थाले जनाएको छ । ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्सका विजेताले एक–एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपहरुले ३० लाख र सेकेन्ड रनरअपहरुले २० लाख रुपैयाँ पुरस्कार पाउने बताइएको छ । डान्स यूनिभर्स’को सँस्कृतिक समुह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको एक संस्था हो जस्ले नेपाली संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने काम गर्छ । फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न धेरै परियोजनाहरुमा काम गरिरहेको छ । फाउन्डेसनले आफ्ना परियोजनाहरू मार्फत ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई सहयोग गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।