भुरीगाउँ, बर्दिया : विकास प्रेमी युवा समूह बारबर्दिया नगर कमिटिले माघि न्यानो कपडा उपहार कार्यक्रम सम्पन्न गरेको छ । देश र समाज रुपान्तरणका लागि हाम्रो अभियान नाराका साथ संचालित युवा समूहले माघि पर्वको छेको पारेर बारबर्दिया नगरपालिकाका अति विपन्न व्यक्ति र परिवारलाई न्यानो कपडा वितरण गरेको हो ।
बारबर्दिया नगरपालिकामा चिसोको समयमा न्यानो कपडा खरिद गर्न असमर्थ ११ वटा घरधुरीलाई सिरक तथा एक सय जना भन्दा बढी व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको विकास प्रेमी युवा समूह बारबर्दिया नगर कमिटिका सभापती गंगाराम पाठकले जानकारी दिनुभयो । नगरपालिकाका ११ वटा वडाहरुबाट हरेक वडाको १ अति विपन्न घरधुरी छनौट गरी ११ घरधुरीलाई सिरक तथा नगरका एक सय भन्दा बढी ब्यक्तिलाई चिसोबाट बचाउनका लागि न्यानो कपडा वितरण गरिएको हो ।
चिसोको समयमा न्यानो कपडाकै अभावले विपन्न परिवारले कष्टकर दैनिकी भोग्न नपरोस भन्ने उद्देश्यले समूहको आफ्नै तथा केही दातृ निकायहरुको आर्थिक सहयोगमा कपडा वितरण गरिएको समूहका जिल्ला संयोजक गोपाल निरौलाले बताउनुभयो । चिसोको कारणबाट नै गत वर्षहरुमा कैयौं व्यक्तिहरुले ज्यान गुमाएका घटना घटि रहेकोमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नु पर्छ भन्ने सोंचाईबाट नै समूहले न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको निरौलाले जानकारी दिनुभयो ।
बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारुको प्रमुख आतिथ्यता, उप–प्रमुख पद्मा कुमारी पाण्डेयको विशिष्ट आतिथ्यता, बारबर्दिया नगरपालिकाका सबै वडाका अध्यक्षहरु तथा विकास प्रेमी युवा समूह जिल्ला संयोजक गोपाल निरौलाको विशेष आतिथ्या र समूहका अन्य पदाधिकारीहरुको उपस्थितीमा माघि न्यानो कपडा उपहार कार्यक्रम सम्पन्न भएको हो ।