गुलरिया, बर्दिया : प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल बाँकेको साझेदारि तथा शिक्षा विकास समन्वय इकाइ बर्दियाको समन्वयमा प्रधानाध्यापकहरुका लागि सिकाई परियोजना अन्तरगत विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला तथा क्षमता विकास तालिम सम्पन्न भएको छ ।
बर्दिया जिल्लामा परियोजना संचालन भएका राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, गुलरिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा सञ्चालित २५ विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै शिक्षा विकास समन्वय इकाइ बर्दियाका शाखा अधिकृत महेशदत्त देवकोटाले विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका २०७४ ले व्यवस्था गरे अनुरुप विद्यालयको योजना बनाउने गरिएको भए पनि विद्यालयको आवश्यकता, स्थानीय माग र अवसरलाई मुख्य रुपमा राखि योजना बनाउँदा प्रभावकारी हुने बताउनुभयो । सम्पन्न कार्यशालको प्रभावले आगामी दिनमा विद्यालयको योजना सुधार भएर आउने आफुले अपेक्षा गरेको देवकोटाले बताउनुभयो ।
अब बन्ने योजनाहरुमा आपतकालीन शिक्षाको योजना, बिपत योजना, स्टिम शिक्षा, ग्रिन स्कुल जस्ता विषयहरु प्रभावकारी बनाउनका लागि र योजनामा समेट्न जरुरी रहेको सहभागिहरुले बताएका छन् । योजनाहरुको सफल कार्यान्वयन गर्न र चुस्त दुरुस्त राख्नका लागि सम्पन्न कार्यशालाले थप सहयोग पुर्याउने र विद्यालय तहको शैक्षिक गुणस्तर बृद्दि गर्नका लागि शिक्षकहरुको क्षमता विकास र स्थानीय तहको नीति तथा योजनाहरुमा समेत सहयोग पुर्याएकाले स्याक नेपाल तथा प्लान इन्टरनेशनल नेपाललाई सहभागिहरुले धन्यबाद दिएका छन् । सम्पन्न कार्यशाला कार्यक्रममा योजना निर्माणमा नीतिगत व्यवस्था, विद्यालय सुधार योजनाका अनुभव र अभ्यास, विद्यालयको लक्ष्य, उद्देश्य, आवश्यकता विष्लेषण, विद्यालय सुधार योजनामा प्रधानाध्यापकहरुको नेतृत्व तथा भुमिका लगायतका विषयमा छलफल गरिएको छ ।
शिक्षा विकास समन्वय इकाइ बर्दियाका शाखा अधिकृत महेशदत्त देवकोटाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रमलाई नेपाल सरकारका पूर्व शिक्षा सचिव एवम् बर्दिया जिल्लाका पूर्व जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहले सहजिरकण गर्नुभएको स्याक नेपाल शाखा कार्यालय गुलरिया बर्दियाका सिकाइ परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो । गुलरियामा संचालित विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला तथा क्षमता विकास तालिम पुस २५ र २६ गरी दुई दिन संचालन भएको थियो ।