online-aama-surachhya-sandesh

जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

Sambad ADD long

यज्ञ प्रसाद सापकोटा/बर्दिया : गुलरिया नगरपालिकाको ५ नम्बर वडा कार्यालयले जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । वडा कार्यालयले ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई नेपालगञ्ज र कोहलपुरसम्म जानका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको हो ।

नगरपालिकाको ५ नम्बर वडा भित्रका ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई दुई पटकसम्म निःशुल्क एम्बुलेन्स सेवा दिने वडाध्यक्ष मुम बहादुर मल्लले बताउनु भयो । वडा कार्यालयले कार्यविधि बनाएर बजेट विनियोजन गरेर सेवाको सुरुवात गरिएको उहाँले बताउनु भयो । बजेट वितरणमुखी बनाउन भन्दा पनि गरीब जेष्ठ नागरिकलाई थोरै भएपनि राहत होस् भनेर यस कार्यको थालनी गरेको वडाध्यक्ष मल्लले बताउनु भयो ।

वडा कार्यालयको कार्यप्रति हर्षित हुँदै गुलरिया नगरपालिका वडा नम्बर ५ का स्थानीय सेवाग्राही भागीराम थारूले एम्बुलेन्स भाडामा बचेको पैसा अरु औषधी उपचारमा खर्च गर्न सहज हुने बताउनु भयो । जेष्ठ नागरिकहरु एम्बुलेन्स खर्च नपाएर जिल्ला भन्दा बाहिर उपचार गर्न जान नपाउने समस्याको समाधान हुने भएको छ । ५ नम्बर वडा कार्यालयले चालु आर्थिक वर्षको लागि एम्बुलेन्स भाडाको लागि खर्च भनेर ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियासंग सम्झौता गरेर जेष्ठ नागरिकलाई नेपालगञ्ज र कोहलपुर पुर्याउने व्यवस्था गरिएको वडा सचिव घनश्याम अधिकारीले बताउनु भयो । गत मंसिर २९ गते देखि आगामी असार २० गते सम्मका लागि एम्बुलेन्स सेवा दिने गरी रेडक्रससंग सम्झौता गरिएको वडा सचिव अधिकारीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.