onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियाबाट एक वर्षको अवधिमा ४४३ महिला तथा बालबालिकाको उद्दार

Sambad ADD long

यज्ञ प्रसाद सापकोटा/बर्दिया : बर्दियाको भारतीय सीमावर्ती क्षेत्रबाट जोखिमपूर्ण यात्रामा रहेका ४४३ जना महिला तथा बालिकाहरूलाई उद्दार गरिएको छ । माइती नेपालले विभिन्न नाकामा रहेको सेवा केन्द्रहरूबाट २७३ जना बालिका र १७० जना महिलाहरूलाई उद्दार गरेको हो ।

गुलरिया नगरपालिका भित्र बस्ने ९८ जना, मधुवन नगरपालिकाका ६० जना बाँसगढी नगरपालिकाका ५० जना , बढैयाताल गाउँपालिकाका ४८ जना, बारबर्दिया नगरपालिकाका ३८ जना, ठाकुरबाबा नगरपालिकाका ११ जना, राजापुर नगरपालिकाका ४ जना र गेरुवा गाउँपालिकाका ४ जनाको उद्दार भएको माइती नेपाल बर्दियाले जनाएको छ । त्यसैगरी बर्दियामा मानव बेचविखन र सुरक्षित बसाइसराइ बारे परामर्श दिई ७४ जनालाई घर फिर्ता गराइएको छ । बर्दिया बाहेक अन्य जिल्लाका १३० जनालाइ उद्दार गरी घर पठाइएको छ ।

सन् २०२२ जनवरी देखि हाल सम्म उनीहरूको उद्दार गरीएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले बताउनु भयो । उहाँले गुलरियाको सुरजपुर, मधुवनको शक्तिपुर र बढैयातालको बलैगाउँमा सञ्चालन गरेको सेवा केन्द्रबाट उनीहरूको उद्धार गरिएको बताउनु भयो । बर्दिया जिल्लाका बालिका तथा महिला मात्र नभएर देशका विभिन्न स्थानबाट पनि बर्दियाको बाटो हुँदै मानव ओसारपसार हुँदै आएको छ ।

बर्दिया मानव ओसारपसारको ट्रान्जिट प्वाइन्ट भएको बताउँदै कार्यक्रम संयोजक रिमालले खुल्ला सिमाना र सीमावर्ती बजारको आवतजावतको कारणले मानव बेचविखन तथा ओसारपसार रोक्न समस्या भएको बताउनु भयो । सन् २०२२ मा महिला तथा बालबालिका हराएर खोजतलासका लागि १०८ जनाको निवेदन परेको छ । जसमध्ये ११ जना फेला परेका छन् । त्यसैगरी माइती नेपाल बर्दियामा १९५ ओटा घरेलु हिंसाका मुद्दा दर्ता भएकोमा १७७ ओटा मुद्दाको समस्या समाधान गरीएको छ ।

माइती नेपालले बर्दियामा सन् २०१६ देखि काम गर्दै आएको छ । स्थापना काल देखि हाल सम्म बर्दियाका सिमानाबाट एक हजार ३६५ जना महिला तथा बालबालिकाहरूलाई उद्दार गरेको छ ।

Leave A Reply

Your email address will not be published.