
जयनगर, बर्दिया : ठाकुरबाबा नगरपालिका–८, मढेलामा केन्द्रिय कार्यालय रहेको विश्वासिलो बचत तथा ऋण सहकारी सस्था लिमिटेड र नेपाल स्वयम्सेवी रक्तदाता समाज, बारबर्दिया नगर समितिको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वासिलो साकोसको चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम अनुसार निगरानी सेवा केन्द्र, जयनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा ५ जना महिला र ५८ जना पुरुष गरी कुल ६३ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा सबैभन्दा बढि पटक रक्तदान गर्नुभएको बाँकेका पत्रकार पवन जैसवालको समेत सहभागीता रहेको थियो । उहाँले अहिले सम्म ९३ पटक रक्तदान गरिसक्नुभएको छ । स्थानीयहरुलाई रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको विश्वासिलो साकोसका अध्यक्ष चित्र प्रससाद खनालले बताउनुभयो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र नेपालगञ्ज बाँकेको प्राविधिक तथा बारबर्दिया उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी उपशाखा बारबर्दिया, लायन्स क्लब अफ मगरागडी, विकास प्रेमी युवा समूह, बारबर्दिया र स्थानीय सरोकारवाला संघसंस्थाहरुको सह–आयोजनामा सम्पन्न भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।