भुरीगाउँ, बर्दिया : “पूर्ण सरसफाई युक्त पालिकाको अभियान, आ–आफ्नै पहलमा हात धुने स्थान” भन्ने नारा सहित २०७९ भदौ ५ गते देखि ठाकुरबाबा नगरपालिकामा सुरु गरिएको पूर्ण हात धुने अभियानलाई सफल बनाउन बुधबार ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १ मा विश्व शौचालय दिवसको अवसरमा अदृश्य रुपमा रहेको शौचालयको महत्व प्रकाश पारौँ भन्ने नारा सहित १ दिने कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचारसहिताको कारण शौचालय दिवसको दिनमा संचालन गर्न नसकिएकोमा बुधबार संचालन गरिएको गेरुवा ग्रामिण जागरण संघका सरसफाई अधिकृत मनोज पौडेलले जानकारी दिनुभयो ।
गेरुवा ग्रामिण जागरण संघद्धारा संचालित प्रयास २ परियोजनाको आयोजना तथा तेर दे जोम्स र प्लान इन्टरनेश्नल नेपालको अर्थिक सहयोग तथा ठाकुरबाबा नगरपालिकाको सहकार्यमा विश्व शौचालय दिवसको बारेमा चर्चा तथा शौचालयको महत्वको बारेमा छलफल गरिएको हो । शौचालय प्रयोगगर्दा विभिन्न किसिमका प्राण घातक रोगबाट जोगीन सकिने उदेश्य साथै दिशा मुखमा परेर लाग्न सक्ने रोगहरु यसका रोकथामका उपायहरु अपनाउने तरिका तथा महिनावारी स्वच्छता व्यवस्थापनमा शौचालयको महत्वबारे पनि छलफल गरिएको गेरुवा ग्रामिण जागरण संघका सरसफाई अधिकृत पौडेलले बताउनु भयो ।
पूर्ण हात धुने अभियान र बिभिन्न सरोकारवालाहरुको भुमिका बारेमा पनि छलफल गरिनुका साथै अभियान प्रर्वद्धनका लागि प्रतिबद्धता हासिल गरिएको गेरुवा ग्रामिण जागरण संघकी फिल्ड सुपर भाइजर लक्ष्मी भुर्तेलले जानकारी दिनुभयो । कार्यक्रममा गेरुवा ग्रामिण जागरण संघका सरसफाई अधिकृत मनोज पौडेल र फिल्ड सुपरभाइजर लक्ष्मी भुर्तेलले सहजीकरण गर्नुभएको थियो भने वडा नम्बर १ का वडा सचिव केशव प्रसाद खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।