बर्दिया : मौन अवधिमा मदिरा बेचबिखनमा प्रतिबन्ध
सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गर्नेलाई कारवाही हुने
हरिवंश पाण्डे/ठाकुरद्वारा, बर्दिया : जिल्ला प्रशासन कार्यालय बर्दियाले मादकपदार्थ सेवन तथा विक्री वितरणमा रोक लगाएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै हुन सक्ने सम्भावित दुर्घटनालाई न्यून गर्न मंसिर २ गते शुक्रबार देखि निर्वाचन सम्पन्न हुने दिन ४ गते आइतबारसम्म जिल्लाका सार्वजनिक स्थलमा मादकपदार्थ सेवन तथा विक्री वितरणमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले बुधबार एक विज्ञप्ती जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भय रहित वातावरणमा सम्पन्न गर्नका लागि मौन अवधिभर २ गते बिहान ५ बजे देखि ४ गते राति १२ बजेसम्म मदिरा लगायतका मादक पदार्थको विक्रीवितणर तथा सार्वजनिक स्थलमा सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला प्रमुख अधिकारी तथा सूचना अधिकारी रमेश पाण्डेयले जानकारी दिनुभयो ।
सूचना अधिकारी पाण्डेयद्वारा हस्ताक्षरित विज्ञप्तीमा सूचना विपरित मदिराजन्य पदार्थको विक्रीवितण तथा सेवन गर्नेलाई कानुन अनुसार कारबाही गरिने समेत उल्लेख गरिएको छ ।