७० औं जन्मोत्सवमा छात्रवृत्ती अक्षयकोषको स्थापना
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरीगाउँ निवासी शिवकला उपाध्यायले त्रिभुवन नमूना माध्यमिक विद्यालयमा छात्रवृत्ती अक्षयकोष स्थापना गर्नुभएको छ । ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा रहेको त्रिभुवन नमूना माध्यमिक विद्यालयमा ७० वर्षिय उपाध्यायले आफ्नो जन्मोत्सवको अवसरमा ५५ हजार ५५५ रुपैयाँको शिवकला उपाध्याय छात्रवृत्ती अक्षयकोष स्थापना गर्नुभएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमराज खनाल र प्रधानाध्यापक नन्दराम अधिकारीको उपस्थितीमा व्यवस्थापन समितिका अध्यक्ष खनाललाई उपाध्यायले अक्षयकोष रकम हस्तान्तरण गर्नुभएको हो । अक्षयकोषको रकमबाट प्राप्त व्याजबाट विद्यालयमा कक्षा १ देखी १२ सम्म अध्ययन गर्ने अपांग भएका विद्यार्थीलाई छात्रबृत्ति तथा शैक्षिक सामाग्रि वितरण गर्ने बताइएको छ । विद्यालयको बार्षिक उत्सवको अवसरमा हरेक वर्ष बैशाख ११ गते छात्रवृत्ती तथा शैक्षिक सामाग्रि वितरण गरिने विद्यालयका प्रधानाध्यापक नन्दराम अधिकारीले बताउनुभयो ।
आफुहरुको सानो सहयोगले अपांगता भएका बालवालिकाहरुको अध्ययनमा केहि सहयोग पुग्ने र भविष्य उज्वल हुने अपेक्षा सहित अक्षयकोषको स्थापना गरेको अक्षयकोषका संरक्षक समेत रहनु भएका शिवकला उपाध्यायका छोरा खगेन्द्र नेपालले बताउनुभयो । अक्षयकोषका संस्थापक शिवकला उपाध्यायविगत १८ वर्षदेखी आपांग जिवन विताई रहनु भएको छ । उहाँले आफुले प्राप्त गरेको अपांगता भत्ता रकम जम्मा गरेर सो कोषको स्थापना गर्नु भएको हो ।
फरक प्रसंगमा कुरा गर्दै ‘विद्यालयको प्रवेश वर्ष साठ्ठी, विद्यार्थी संख्या दुई हजार माथि’ भन्ने नारा तय गर्दै त्रिभुवन नमूना माध्यमिक विद्यालयले २०८० बैशाखसम्म विद्यालयमा विद्यार्थी संख्या २ हजार भन्दा माथि पुर्याउने गरी योजना बनाएर सोहि अनुसार कार्य भइरहेको समेत प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो । बर्दियामा भएका ११९ माध्यमिक विद्यालयमा ठाकुरबाबा नगरपालिकाको त्रिभुवन नमूना माध्यमिक विद्यालयमा १ हजार ७५० भन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।