online-aama-surachhya-sandesh

ठाकुरबाबा नगरपालिकाद्वारा भुरीगाउँ बजार क्षेत्रको अनुगमन

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले भुरीगाउँ बजार क्षेत्रको अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा हार्डवेयर पसल, एग्रोभेट, मेडिकल, मासुपसल, किराना र अन्य गरी १४ वटा पसलमा अनुगमन गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ ।

बजार अनुगमनका क्रममा व्यवसायीले विषेश गरी मूल्यसुची राख्नुपर्ने, साइन बोर्ड राख्नुपर्ने, व्यवसाय दर्ता गर्नुपर्ने, लेवल खुलाउनुपर्ने, म्याद नाघेका सामग्रीको चेकजाँच गर्नुपर्ने, बहालकर समयमै बुझाउनुपर्ने, स्थायी लेखा नम्बर दर्ता, खाद्य अनुज्ञापत्र लिनुपर्ने, मासु ब्यवसायीले मासुको गुणस्तर कायम गर्नुपर्ने, ग्याँसको तौल र मुल्य लगायतका कैफियत स्थिति खुलाउनु पर्ने लगायतको विषयमा ध्यानाकर्षण गराइएको ठाकुरबाबा नगरपालिका आर्थिक विकास शाखा प्रमुख ओम राना क्षेत्रीले जानकारी दिनुभयो ।

आर्थिक विकास शाखा प्रमुख क्षेत्रीका अनुसार बजार अनुगमनले बजार क्षेत्र सरसफाई लगायत उपभोक्ताहरुको स्वास्थ्यमा पर्न जाने स्वास्थ्य समस्याबाट जोगिन सकिने भएकाले बजार अनुगमन तिब्र पारिएको हो । बजार अनुगमनका क्रममा केहि मासुपसलमा सरसफाईको कमि र सामानहरु अव्यवस्थीत रुपमा राखिएको पाईएको छ । भुरीगाँउ बजारको मुख्य बजार क्षेत्रमा रहेका केहि मासु पसल र माछा पसलमा सरसफाईको कमी भेटिएको अनुगमन टोलीले जनाएको छ ।

व्यवसायीहरुले जथाभावि रुपमा सामान अस्तव्यस्त राखेको र फोहोर व्यवस्थापन नगरेको पाइएकोले सो पसलहरुलाई नगरपालिकाले व्यवस्थित रुपमा सबै सामान राख्न र सरसफाई गर्न ३ दिनको म्याद दिएको छ । तोकिएको समयभित्रमा व्यवस्थापन गर्न नसकेमा नगरपालिका आफैले हटाउने जनाएको छ । यो संगै नगरपालिकाले अवका १५ दिन पछि फेरी बजार अनुगमन गर्ने जनाएको छ । यदि एक पटक दिइएका निर्देशनहरु पुनः अनुगमन गर्दा पालना नभएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने नगरपालिकाले जानाएको छ ।

ठाकुरबाबा नगरपालिकाका नगर उपप्रमुख विना कुमारी भट्टराई, स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर राजबंशी, आर्थिक विकास शाखाका प्रमुख ओम राना क्षेत्री, कृषि शाखा प्रमुख धुर्वराज बम, प्रहरी र पत्रकार लगायतको उपस्थितीमा ठाकुरबाबा नगरपालिकाले भुरीगाउँ बजार क्षेत्रको अनुगमन गरेको हो ।

Leave A Reply

Your email address will not be published.