बर्दिया : अविरल बर्षाका कारण बाढी र डुवानमा परेका गुलरिया र बारबर्दिया नगरपालिकाका १२५ घरपरिवारलाई राहत वितरण गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको सहकार्यमा प्लान इन्टरनेशन नेपालका साझेदार संस्थाहरु बाँके युनेस्को क्लब, बि–ग्रुरुप, स्याक नेपाल, थारु महिला उत्थान केन्द्र लगायत संस्थाहरुको पहलमा राहत वितरण गरिएको हो । प्लान इन्टरनेशन नेपालकी क्षेत्रीय प्रबन्धक मिना पराजुलीले प्लान नेपाल विपदको समयमा बर्दियाली नागरिकको साथमा रहेको बताउनु भयो । उहाँले प्राकृतिक विपत्तिमा लगायत अन्य मानवीय कार्यमा पनि सहयोग गर्दै जाने बताउनु भयो ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले विपदको समयमा पीडितले प्राप्त गरेको राहतले मल्हमको काम गरेको बताउँदै प्राकृतिक विपद र अन्य संकटको समयमा पनि हातेमालो गरेर अगाडी बढ्ने बताउनु भयो । बाढी र डुवानबाट प्रभावित गुलरिया नगरपालिकाका ७६ घरपरिवार र बारर्दिया नगरपालिकाका ४९ घरपरिवारलाई राहत वितरण गरिएको बाँके युनेस्को क्लबका सुपरभाइजर डम्बर बहादुर परियारले जानकारी दिनुभयो ।
पीडित घरपरिवारका लागि त्रिपाल, प्रिफम, झुल र कम्बल वितरण गरिएको छ । गत असोज १९ गतेदेखि २५ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र डुवानले धेरै घरपरिवार प्रभावित भएका थिए् ।