
बर्दिया : प्रतिनिधिसभा सदस्यका लागि बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मनोनयन दर्ता निर्वाचन आयोगले खारेज गरेको छ । मुख्य निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले चौधरी विरुद्ध परेको उजुरीमा छानबिन गरी मंगलबार उम्मेदवारी खारेज भएको जानकारी दिनुभयो ।
निर्वाचन अधिकृत लम्सालका अनुसार प्रतिनिधिसभा २०७४ को दफा १३ को ख (ङ) र झ बमोजिम खारेज गरीपाउँ भनी नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभाका उम्मेदवार सुरेश पन्थले उजुरी दिनु भएको थियो । उम्मेदवारी खारेज भएको जानकारी पाएपछि रेशम चौधरीका समर्थकले नारावाजी गर्न थालेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिनुभयो । उच्च अदालतबाट जन्मकैदको सजाय पाएर हाल चौधरी डिल्लीबजारस्थित कारागारमा सजाय भोगिरहेका छन् ।
बर्दियाकै निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका दुई उम्मेदवार सञ्जय कुमार गौतम र अरुण प्रकाश सिंह राठौर मध्ये राठौरको उम्मेदवारी खारेज गर्दै गौतमको उम्मेदवारीलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ । यसैबीच, नागरिक उन्मुक्ति पार्टीबाटै कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार लक्ष्मण थारुको पनि उम्मेदवारी खारेज भएको छ । साभार : कमल पन्थी/कान्तिपुर