बर्दिया : मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका लागि बर्दिया क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस पार्टीबाट दुई जनाले मनोनयन दर्ता गराउनुभएको छ । निवर्तमान सांसदसमेत रहनुभएका पुर्व सिँचाई मन्त्रि काँग्रेस पार्टीका केन्द्रीय सदस्य सञ्जय कुमार गौतम र पार्टी जिल्ला सभापति अरुण प्रकाशसिंह राठौरले हिँजो मनोनयन दर्ता गराउनुभएको हो ।
सञ्जय कुमार गौतमले बर्दिया क्षेत्र नम्बर १ का लागि काठमाडौंबाट निर्वाचन कार्यालयमा मनोनयनपत्र दर्ता गरेको बताउनुभयो । आफुले उम्मेदवारको टिकट पाएको बताउँदै आधिकारिक उम्मेदवार म नै भएकाले मनोनयनपत्र दाखिला गरेको उहाँले बताउनुभयो । जिल्ला पार्टी सभापति राठौरले पनि आफू आधिकारिक उम्मेदवार भएको बताउनुभयो । बर्दियाका मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले गौतम र राठौरको मनोनयनपत्र दाखिला भएको बताउनुभयो ।
यसअघि २०७४ सालको निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट बाम गठबन्धनका उम्मेदवार बामदेव गौतमलाई साढे सात सय मतले पराजित गर्दै विजयी हुनुभएका पुर्व सिँचाई मन्त्रिसमेत रहनुभएका केन्द्रिय सदस्य सञ्जय कुमार गौतमले टिकट पाएको निश्चित भएपनि मनोनयन दर्ता गर्ने दिन काँग्रेसले पार्टी जिल्ला सभापति अरुण प्रकाशसिंह राठौरलाई टिकट दिएपछि दुई जनाको उम्मेदवारी परेको हो ।
दुई निर्वाचन क्षेत्र रहेको बर्दियामा सत्ता गठबन्धनबाट प्रतिनिधीसभाका लागि क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस र क्षेत्र नम्बर २ मा नेकपा माओबादी केन्द्रको भाग परेपछि सोहि अनुसार उम्मेदवारी परेको छ । क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट लक्ष्मणराज ज्ञवाली, नेमकिपाबाट हरिलाल न्यौपाने, नागरिक उन्मुक्ति पार्टीबाट ठाकुरसिंह थारु, राप्रपाबाट सूर्यबहादुर सिंह, जनता समाजवादीबाट सुरेशप्रसाद शुक्ला र स्वतन्त्रबाट रेशमबहादुर खत्री र देवीप्रसाद तिवारीले मनोनयनपत्र दर्ता गर्नु भएको छ ।
मुख्य निर्वाचन अधिकृत नगेन्द्र लम्सालका अनुसार क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट पंकज सिँह राठौर, नेमकिपाबाट धर्मराज जैशी आचार्य, नागरिक उन्मुक्ति पार्टीबाट रेशमलाल चौधरी, राप्रपाबाट विनय रावल, जनता समाजवादीबाट अनिरुध्या आर्य र स्वतन्त्रबाट राम प्रसाद आचार्य, लालबिर चौधरीले मनोनयनपत्र गर्नु भएको छ ।
यस्तै काँग्रेसबाट प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ को (क) मा भुवनेश्वर चौधरी र २ को (क) मा जन्मजय तिमिल्सेनाले उम्मेदवारी दिनुभएको छ । माओबादीबाट प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ को (ख) मा मान बहादुर थारु र २ को (ख) मा अन्जु दहितले उम्मेदवारी दर्ता गर्नु भएको छ । यसैगरि एमालेबाट प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ को (क) मा सालिकराम अधिकारी, (ख) मा भक्त बहादुर बिक र २ को (क) मा लहानु थारु, (ख) मा कृष्णी थारुले उम्मेदवारी दर्ता गर्नु भएको छ ।