रुखले च्यापिएर मृत्यु भएकी बालिकाको परिवारलाई प्रशासन र नगरपालिकाको राहत

भुरीगाउँ, बर्दिया : आँधिहुरीमा रुखले च्यापिएर मृत्यु भएकी बालिकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय र नगरपालिकाले राहत रकम उपलब्ध गराएको छ । ठाकुरबाबा नगरपालिका-८, सुतैया बस्ने बिनिता शाहीको आगनमा खेलिरहेको अबस्थामा गत साउन २१ गते आएको आँधिहुरी सहितको पानीले घर छेउको रुख ढल्दा घाईते भई उपचारका क्रममा मृत्यु भएको थियो ।
मृतक शाहीको परिवारलाई जिल्ला प्रशासन कार्यालय, बर्दिया र ठाकुरबाबा नगरपालिकाको कार्यालयले राहत रकम उपलब्ध गराएको हो । जिल्ला प्रशासन कार्यालयको तर्फबाट २ लाख र ठाकुरबाबा नगरपालिकाको तर्फबाट ५० हजार गरी २ लाख ५० हजार रुपैयाँ मृतकको मावली हजुरबुवा सुकलाल पुरीलाई जिल्ला समन्वय समिती, बर्दियाका प्रमुख सुर्य बहादुर बिष्टले घरमा नै गएर हस्तान्तरण गर्नुभएको छ ।
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, नगर उपप्रमुख बिना कुमारी भट्टराई, वडा नम्बर ८ का अध्यक्ष टेक बहादुर बडुवाल, वडा सदस्यहरु लगायतको उपस्थितीमा राहत रकम हस्तान्तरण गरिएको ठाकुरबाबा नगरपालिका नगरप्रमुखको सचिवालय प्रमुख जीवन कंडेलले जानकारी दिनुभयो ।