भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा खानेपानी सुरक्षा योजना, खानेपानी गुणस्तर र सुरक्षित खानेपानी युक्त समुदाय संचालन गर्ने कार्यक्रम अन्तरगत खानेपानी तथा सरसफाईको नीतिगत सवाल, दिगो विकास लक्ष्य, खानेपानी गुणस्तर विषयक अन्तरक्रिया कार्यक्रम असाेज ८ गते सम्पन्न भएको छ ।
ठाकुरबाबा नगरपालिका क्षेत्रभित्र संचालनमा रहेका खानेपानी उपभोक्तालाई सुरक्षित खानेपानी वितरणका लागि संचालनमा रहेका आयोजनामा पानी सुरक्षा योजना लागु गर्ने, कार्यक्रम संचालन गर्नका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । अन्तरक्रिया कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले ठाकुरबाबा नगरपालिकालाई सुरक्षित पानी वितरण गर्नका लागि विभिन्न नीति नियमहरु निर्माण गरिरहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख विना कुमारी भट्टराईले खानेपानी उपभोक्ता समितिले अगाडी बढाएका कार्यक्रममा नगरपालिकाले हातेमालो गर्दै अगाडी बढ्ने जानकारी दिनुभयो । खानेपानी तथा सरसफाई उपभोक्तालाई परेका कठिनाईहरु र नीति नियमका कुरामा महासंघले सधै आवाज उठाई सरकारसंग पहल गरिरहेको बताउनुभयो ।
यसैविच खानेपानी डिभिजन कार्यलय नेपालगंजका प्रमुख तिलक न्यौपानेले संचालनमा रहेका आयोजनाहरुको पानीको गुणस्तर सम्बन्धि जानकारी लिन आग्रह गर्नुभयो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बर्दियाका अध्यक्ष टिका सम्मेलीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख विना कुमारी भट्टराई, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र आर्याल, खानेपानी डिभिजन कार्यलय नेपालगंजका प्रमुख तिलक न्यौपाने, ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रामहरी रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।