
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख बिना कुमारी भट्टराईले १८ वर्ष देखि २४ वर्षको उमेर समूहका किशोरीहरु शारिरिक, मानसिक, सामाजिक र आर्थिक रुपमा जोखिममा पर्ने भएकाले आफ्नो जीवनलाई सशक्त बनाउन तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न किशोरीहरुलाई आग्रह गर्नुभएको छ ।
उपप्रमुख भट्टराईले बालविवाह गरेका अधिकांश किशोरी तथा युवतीहरु हिंसामा परेकाले र सानै उमेरमा विवाह गर्दा पढाईबाट बन्चित हुनुपर्ने, आर्थिक अभावमा दैनिकी कटाउनुपर्ने बाध्यता, स्वास्थ्यमा समस्या आएर अफ्ठ्यारो हुनेजस्ता समस्याहरु देखा पर्ने भएकाले आफु आत्मनिर्भर र सक्षम नभएसम्म विवाह नगर्न समेत अनुरोध गर्नुभएको छ ।
प्लान इन्टरनेशनल नेपाल र भेरी बातावरणिय बिशिष्टता समुह (बि–ग्रुप)को साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको सहकार्यमा असोज १ गते देखि आयोजना गरिएको बालविवाह न्यूनिकरण परियोजना अन्तरगत जीवन उपयोगी सीप सम्बन्धि क्षमता अभिवृद्धि तालिमको समापन सत्रको अवसरमा सिकेको सिपलाई व्यवहारमा उर्तान उपप्रमुख भट्टराईले सहभागीहरुलाई आग्रह गर्नुभयो ।
१८ देखि २४ वर्ष उमेर समूहका युवा महिला आर्थिक रुपमा विपन्न, लैगिक हिंसामा परेका र आयस्रोत कम भएका महिलाहरुको जीवनस्तर उकास्न व्यवसायिक सिप विकास तालिम र उद्यमशिलता सम्बन्धि तालिममा सहज पुर्याउने उद्देश्यले जीवन उपयोगी सीप सम्बन्धि क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको बि–ग्रुपका फिल्ड सुपरभाइजर सिर्जना चौधरीले जानकारी दिनुभयो । पछिल्लो समय बि–ग्रुपपले ठाकुरबाबा नगरपालिका सहित बर्दियाको मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाका १५, १५ जना गरी ६० जनालाई जीवन उपयोगी सीप सम्बन्धि क्षमता अभिवृद्धि तालिम दिएको फिल्ड सुपरभाइजर चौधरीले बताउनुभयो ।
तालिमको समापन सत्रमा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत विमल गैरेले आर्थिक रुपमा पछाडि परेका, लैगिक हिंसामा परेका तथा आयस्रोत कम भएका व्यक्तिहरुको जीवन स्तर उकास्न तथा बालविवाह न्यूनिकरण गर्नका लागि शिक्षा, स्वास्थ्य, सिपमुलक तालिम, सडक नाटक, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि तालिम लगायतका क्षेत्रमा काम गर्दै आइरहेको बताउनुभएको छ ।
१८ देखि २४ वर्ष उमेर समूहका व्यक्तिहरु यो उमेरमा के गर्ने, के नगर्ने, के सहि हो, के गलत हो भनेर छुट्याउन नसक्ने तथा यहि उमेरमा बिभिन्न किसिमका हिंसाहरु बढ्ने, बालविवाह बढ्ने भएकाले र आफुमा आइपरेका समस्याहरु समाधान गर्नका लागि जीवन उपयोगी सिप सम्बन्धि क्षमता अभिवृद्धि तालिमको आवश्यकता पर्ने भएकाले यस्ता तालिमहरु निरन्तर रुपमा संचालन गर्न कार्यक्रमका सहभागिहरुले आग्रह गरेका छन् ।
ठाकुरबाबा नगरपालिकाकी नगरउपप्रमुख बिना कुमारी भट्टराईको प्रमुख आतिथ्यता, प्लान इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत बिमल गैरे, बि–ग्रुपका रोजगार अधिकृत कुलराज दहित, बि–ग्रुपका फिल्ड सुपरभाइजर माया खड्का, बिमला रावत, सिर्जना चौधरी लगायतको उपस्थिति रहेको तालिममा शेखर दहितले प्रशिक्षण दिनुभएको थियो ।