हात्तीको आक्रमणबाट ठाकुरबाबामा एक जना घाइते
भुरीगाउँ, बर्दिया : जंगली हात्तीको आक्रमणमा परेर ठाकुरबाबा नगरपालिका–४, सैनवारका ३९ वर्षिय मान बहादुर थारु घाइते हुनु भएको छ । भैंसी चराउन निकुञ्ज नजिक गएका बेला हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बगनाहा, भुरीगाउँका प्रहरी सहायक निरीक्षक शेर बहादुर डाँगीले जानकारी दिनुभयो ।
दिउँसो १ बजे तिरको समयमा थारुलाई हात्तीले आक्रमण गरेको जनाइएको छ । हात्तीको आक्रमणबाट थारुको कम्मर र खुट्टामा गम्भिर चोट लागेको छ । हात्तीले घाइते बनाएको खबर पाउने बित्तिकै एम्बुलेन्सको व्यवस्था गरी थारुलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय बगनाहा, भुरीगाउँले जनाएको छ ।
#अपडेट : हात्तीको आक्रमणबाट घाइते हुनु भएका थारुको बाँकेको नेपालगञ्ज स्थीत नेपालगञ्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो । साथै ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को सैनवार, बर्गदा आसपासका क्षेत्रमा जंगली हात्ती रहेकोले सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।
पछिल्लो अपडेट : ०८:०० बजे, २०७९ असोज ०३ गते सोमबार