बगनाहा, बर्दिया : ठाकुरबाबा नगरपालिकामा प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपायाको ब्यवस्थापनका लागि गौशाला निर्माणको शिलान्यास गरिएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ को बनकट्टी गाउँमा गौशाला निर्माणको नगर प्रमुख तिलकराम लम्साल र उपप्रमुख बिना कुमारी भट्टराईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।
विगत केहि वर्षदेखि छाडा रुपमा छाडिएका पशुचौपायाहरुको ब्यवस्थापन ठाकुरबाबा नगरपालिकाको मुख्य चुनौतीको रुपमा रहेको छ । छाडा पशुचौपायाको ब्यवस्थापनका लागि कृषकहरुले पालेका गाई तथा गोरुहरुमा ट्याग लगाउने कार्य गरिएको भएपनि ट्याग सहितको गाई, गोरु छाडा छोडिएको अवस्थामा भेटिने गरेको थियो । यसअघि नगरपालिकाको वडा नम्बर ४ मा पनि गौशाला निर्माण गरी छाडा छोडिएको गाई, गोरुको ब्यवस्थापनको कार्य गरिएको थियो । सिमित श्रोत र साधनको भरमा गौशालाको उचित संचालन हुन नसक्दा छाडा पशुको ब्यवस्थापनमा समस्या आएको हो ।
यस्तै छाडा पशुले समस्या बनाएको भन्दै ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ९ मढेलामा रहेको जगदम्बा माध्यमिक विद्यालयका तत्कालिन प्रधानाध्यापक दिनेशचन्द्र गौतमले विद्यार्थीहरु परिचालन गरी रकम संकलन गरेर ठाकुरद्वारामा गौशाला निर्माणका गर्नुभएको थियो । गौतमले थालेको प्रयास पछि नगरपालिकाको सहयोगमा तत्कालिन नगरप्रमुख घननारायण श्रेष्ठ, उपप्रमुख कृष्णा कुस्मा थारु, वडा नम्बर ८ र ९ वडाका वडाअध्यक्षको सक्रियता तथा स्थानीयको आग्रहमा निर्माण समिती बनाएर गौशाला निर्माणका लागि चन्दा संकलन गरी २ जना हेरालुको पारिश्रमिक सहित ठाकुरद्वारामा रहेको ठाकुरबाबा मन्दिर ब्यवस्थापन समितीलाई गौशाला हस्तान्तरण गरिएको थियो । सामुदायिक वनले गौशालामा रहेका गाई, गोरुलाई चरन क्षेत्र नदिंदा आहारा व्यवस्थापनमा गार्हो हुने गरेको मन्दिर ब्यवस्थापन समितीले जनाएको छ ।
कुनै एक ठाउँमा गौशाला बनाएर नगरपालिका भरिको समस्या समाधान नहुने नगर उपप्रमुख बिना कुमारी भट्टराईले बताउनुभयो । ठाकुरद्वाराको ठाकुरबाबा मन्दिरमा बनाइएको गौशालाले सवै छाडा पशुचाैपायाको ब्यवस्थापन हुन नसक्ने बताउँदै सामुदायिक वनले चरन क्षेत्र नदिँदा आहारा व्यवस्थापन गर्न गार्हो भएको र उचित आहाराको अभावले संचालनमा रहेका गौशालाहरुमा थप पशुचाैपायाको ब्यवस्थापन गर्न समस्या देखिएकाले प्रर्याप्त चरन क्षेत्र भएको ठाउँमा नयाँ गौशाला बनाउनु परेको नगर उपप्रमुख भट्टराईले बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकाको विभिन्न वडाहरुमा जंगलबाट आउने जंगली जनावरहरुले पनि वर्षेनि कृषकहरुको अन्नबाली नोक्सान गरेर सास्ती दिने गरेको र छाडा छाडिएका पशुले पनि अन्नबाली नोक्सानी दोब्बर गर्ने तथा सडक दुर्घटनामा पनि बृद्धि गराउने भएकाले नयाँ गौशालाको निर्माण आवश्यक भएको उपप्रमुख भट्टराईले बताउनुभयो ।
समुदायको माग र चरनको प्रयाप्तताको सम्भाव्यता हेरेर धेरै छाडा पशु व्यवस्थापन गर्न सकिने भएकाले बबई नदीको किनारमा रहेको सामुदायिक वनको छेउमा वडाकाे १० लाख बजेटमा गौशाला निर्माण कार्य सुरुवात गरिएको वडा नम्बर ५ का वडाअध्यक्ष शम्भु प्रसाद थारुले जानकारी दिनुभयो ।
गाई संरक्षणका लागि दिर्घकालीन समाधानको उपायका लागि पहल गरिएको र गाई पालनलाई उत्पादनसंग जोडेर एकीकृत परियोजना सञ्चालन गर्न नगरपालिकाबाट योजना माग गरि पठाइएको उपप्रमुख भट्टराईले बताउनुभयो । छाडा पशुचाैपायाको ब्यवस्थापनमा समन्वयात्मक भुमिका निर्वाह गर्न सरोकारवाला निकाय र नगरबासी सबैलाई उपप्रमुख भट्टराईले आग्रह समेत गर्नुभयो ।