
भुरीगाउँ, बर्दिया : मधुवन नगरपालिकामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मधुवन नगरपालिका–२, को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट ज्यान गएको हो ।
भदौ २६ गते सामुदायिक वनमा भैँसी चराउन गएका मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झोठारु थारुको बाघको आक्रमणबाट ज्यान गएको हो । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय पालिका र डिभिजन वन कार्यालय बर्दियाको संयुक्त टोलीले खोजतलास गर्दा सामुदायिक वनमा भदौ २७ गते बिहान थारुको शव फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।
वृद्धको भदौ २७ गते सोमबार बिहान शव फेला परेको सशस्त्र प्रहरी बल बीओपी भग्रैयाका सशस्त्र प्रहरी निरीक्षक किरण केसीले जानकारी दिनुभयो ।