भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाका सम्पूर्ण विद्यालयहरुमा शुद्ध पिउने पानीको व्यवस्था भएको छ । नगरभित्रका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई बालविबाह न्यूनिकरण तथा सरसफाई युक्त, सुरक्षित र समावेशी सिकाई वातावरण प्रवद्र्धनका लागि भदाै २६ र २७ गते संचालन गरिएको दुई दिने तालिमका क्रममा सहभागीहरुले विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था भएको बताएका हुन् ।
गाँउघर, समाज तथा टोल, बजार लगायतका क्षेत्रमा फोहोर व्यवस्थापन हुन नसक्दा विभिन्न किसिमका रोगहरु लाग्ने र ज्यानै जाने जोखिम भएका कारण रोगहरु लाग्न नदिन सरसफाई अभियान आफैबाट शुरु गर्नुपर्नेमा कार्यक्रमका सहभागिहरुले जोड दिइका छन् । कार्यक्रममा ठाकुरबाबा नगरपालिका शिक्षा शाखा प्रमुख सिता कुमारी भण्डारीले जुन विद्यालयमा अविभावकहरुले विद्यालयको अवस्था के छ ? आफ्ना बालबालिकाहरुको अवस्था के छ ? भनेर विद्यालयमा बुझ्न जानुहुन्छ त्यहाँको पढाई र शिक्षाको अवस्था सुधार हुँदै गएको बताउनुभयो ।
सरकारले नै अहिले कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गरेकाले विद्यालयमा के कस्तो खाजाको व्यवस्था गरीएको छ, यदि जँगफुड जस्ता खाजा खुवाइएको छ भने त्यस्ता कुराहरु न्यूनिकरण गर्न विद्यालय व्यवस्थापन समिति र शिक्षक अविभावक संघका पदाधिकारीहरुको महत्वपूर्ण भुमिका रहने भएकाले यसमा चासो दिन समेत शिक्षा शाखा प्रमुख भण्डारीले आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख बिना कुमारी भट्टराईले बालबालिकालाई पढ्ने बानीको विकास गर्ने प्रमुख दायित्व अभिभावकको भएकाको र विद्यालयमा पढाईको अवस्था के कस्तो छ भनि बुझ्ने दायित्व शिक्षक अभिभावक संघको भएकाले यसमा सबैले हालेमालो गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
उपप्रमुख भट्टराईले फरक प्रसंगमा नगरपलिकाले भदौ ५ गतेबाट पूर्ण हात धुने अभियान सुभारम्भ गरीसकेकाले विभिन्न रोगबाट बच्न र पैसाको बचत गर्नका लागि आफ्नो घरमा टुटि सहितको बाल्टी राखि हात धुने अभियानलाई अघि बढाउन सहयोग गरीदिनु हुन सबैलाई आग्रह गर्दै तालिममा आफुले सिकेका कुरा व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो । किशोरीहरु महिनावारी हुँदा प्रयोग गर्ने प्याडको व्यवस्थापन गर्न तथा सहजताका लागि बर्निङ मेसिन र भेन्डीङ मेसिनलाई विद्यालयमा राख्दै जाने तथा सेनेटरी प्याडहरु विद्यालयमा दिए नदिएको अनुगमन गर्ने उपप्रमुख भट्टराईले बताउनुभयो ।
प्लान इन्टरनेशनल नेपाल र भेरि वातावरणिय बिशिष्टता समुह (बि–ग्रुप)को साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको सहकार्यमा २ दिने तालिम सम्पन्न भएको हो । स्वास्थ्यकर्मि अविराज चौधरीले प्रशिक्षण दिनुभएको तालिममा किशोरकिशोरी तथा अभिभावकहरुसंग बालविवाह हुनुका कारण, किशोरकिशोरीमा हुने परिवर्तन, समावेशि सिकाई र लैगिक हिंसा तथा परम्परागत हानिकारण अभ्यासका बारेमा छलफल गर्दै न्यूनिकरण गर्न विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीको भुमिका के के हुन्छ भन्ने बारे जानकारी दिइएको थियो ।
अशिक्षा, गरिबि, बालविवाह, घरमै प्रसुति, छोराको आसमा सन्तान धेरै जन्माउनु, गर्भवति तथा सुत्केरी अवस्थामा हेरचाह र पोषिलो खानाको कमि, गोप्यता गुम्ने डर र लाज, सुत्केरी प्रश्चात शिघ्र यौन सम्पर्क र असुरक्षित गर्भपतन बारम्बार गराउनु, प्रजनन् स्वास्थ्य समस्याका कारण भएकाले यो न्यूनिकरण गर्न सबैले ध्यान दिनुपर्ने बताइएको छ ।