भुरीगाउँ, बर्दिया : भदौ ५ गते आइतबार एक कार्यक्रमका बिच ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल र नगर उपप्रमुख बिना कुमारी भट्टराईले पूर्ण हात धुने अभियानको शुभारम्भ गर्नु भएको छ । पूर्ण सरसफाई युक्त पालिकाको अभियान आ–आफ्नै पहलमा हात धुने स्थान भन्ने नाराका साथ नेपालमै पहिलो पटक ठाकुरबाबा नगरपालिकामा पूर्ण हात धुने अभियान शुभारम्भ भएको हो ।
फोहोर हातको माध्यमबाट लाग्न सक्ने रोगको रोकथामका लागि घरघरमा टुटि र ढक्कन सहितको हात धुने स्थान बनाउन उपयुक्त हुने निष्कर्ष निस्कीए संगै नगरपालिका स्तरिय खानेपानी तथा सरसफाई र स्वच्छता समन्वय समितिसंग छलफल गरेर पालिका भरि नै हात धुने कार्यलाई ठाकुरबाबा नगरपालिकामा अभियानको रुपमा सञ्चालन गरिएको गेरुवा ग्रामिण जागरण संघका कार्यकारी निर्देशक हरी सुवेदीले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तिलकराम लम्सालले विक्रम सम्वत् २०८० साल भित्र ठाकुरबाबा नगरपालिकाले सबै घर, सार्वजनिक तथा निजि सेवा प्रदायक सस्थाहरुमा साबुनपानी सहितको हात धुने स्थान बनाएको सुनिश्चित गर्ने बताउनु भयो । नगरप्रमुख लम्सालले नेपालको संविधानमा उल्लेखित नागरिकका मौलिक हकहरु मध्य स्वास्थ्य र सरसफाइलाई कार्यान्वयन गर्न र सन् २०३० सम्म हासिल गर्नु पर्ने दिगो विकास लक्ष्यहरु मध्य लक्ष्य नम्बर ६ ‘खानेपानी तथा सरसफाइ’ हासिल गर्न नगरपालिकाले थप अध्ययन गरिरहेको र यस कार्यक्रमलाई पनि यसै अनुरुप बढाएको बताउनु भयाे ।
पूर्ण हात धुने अभियान शुभारम्भ कार्यक्रममा ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख विना कुमारी भट्टराईले हात धुने अभियानका लागि कानुनी, सस्थागत र संरचनात्मक संयन्त्र निर्माण गर्नु, साझेदार र सरोकारवालाहरु पहिचान गरी पैरवी र क्षमता विकास गर्ने, पूर्ण रुपमा हात धुने अवस्था हासिल गरेका टोल, गाउँ, वडा र पालिका घोषणा गर्ने तथा सो अभ्यासलाई सस्थागत गर्ने लक्ष्य रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख भट्टराईले अभियान शुरु भएको ३ महिना भित्र कम्तीमा ३ वडाका ३ वटा टोल, गाउँका सबै घरपरिवारका सदस्यहरुले टुुटी र ढक्कन सहितको हात धुने स्थान वास वेसिन बनाएर प्रयोगमा ल्याएको घोषणा गर्ने, अभियान शुरु भएको ६ महिना भित्र कम्तिमा ३ वडाका सबै घरका परिवारका सदस्यहरुले टुटि र ढक्कन सहितको हात धुने स्थान वास मेसिन बनाएर प्रयोगमा ल्याएको घोषणा गर्ने तथा अभियान शुरु भएको १२ महिना भित्र सतप्रतिशत नगरवासिले टुटि र ढक्कन सहितको हात धुने स्थान, वास मेसिन बनाएर प्रयोगमा ल्याएको घोषणा गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो ।
पुर्ण हात धुने अभियान अन्तरगत विक्रम सम्वत् २०८० साल सम्म नगरपालिका भित्रका सबै घर, सार्वजनिक तथा निजी सेवा प्रदायक सस्थाहरुमा साबुनपानी सहितको हात धुने स्थान भएको सुनिश्चित गर्ने रणनीतिक लक्ष्य ठाकुरबाबा नगरपालिकाले लिएको छ । पूर्ण हात धुने अभियान शुभारम्भ कार्यक्रमका सहभागीहरुले पूर्ण हात धुने नगरपालिका बनाउन साझा प्रतिबद्धता ब्यक्त गरेका छन् ।