आरम्भ चौतारी भुरीगाउँ शाखाकाे बदमासी, एउटाको नाममा अर्कोलाई ऋण लगानी

भुरीगाउँ, बर्दिया : बनेपाको काभ्रेपलाञ्चोकमा केन्द्रिय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय सस्था लिमिटेडको ठाकुरबाबा नगरपालिका-२, मा रहेकाे शाखा कार्यालयबाट अर्कैको नाममा कर्जा लिएर कर्जाग्राही सम्पर्क बिहिन भएको घटना बाहिरिएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–२, रानीपुरमा रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय सस्था लिमिटेडको शाखाबाट उमा कुमारी चौधरीको नागरिकता र चौधरीको ब्यवसायकोे स्थायी लेखा नम्बर (पान) प्रयोग गरी रिता नाम भएकी व्यक्तिले १ लाख ५० हजार रुपैयाँ कर्जा लिएर फरार भएको पिडित पक्षले जनाएका हुन् ।
पिडित पक्षका खुमानन्द चौधरीका अनुसार कर्जा लिएर सम्पर्क बिहिन भएकी रिता ले किस्ता तिर्न छोडे पछि लघुवित्त संस्थाबाट किस्ता किन रोकियो भनेर उमा कुमारी चौधरीलाई फोन आएपछि मात्रै आफ्नोे नागरिकता र आफ्नो ब्यवसायको स्थायी लेखा नम्बर (पान) प्रयोग गरि अर्कैले कर्जा उपभोग गरेको कुरा जानकारी भएको हो ।
उमा कुमारी चौधरीको नाममा लगानी भएको कर्जाको फाइल हेर्दा हस्ताक्षर नमिलेको र सम्बन्धित व्यक्तिको पहिचान नगरेर नै लघुवित्त संस्थाले १ लाख ५० हजार रुपैयाँ कर्जा मागलाई एप्रुभ गरेर कर्जा प्रवाह गरेको पाईएकोले अनुसन्धान गर्न पिडित पक्षले आग्रह गरेका छन् । कर्मचारीको लापरबाहीका कारण आफ्नो नाममा अर्कैले कर्जा लिन सफल भएको पिडितको गुनासो छ ।
यस विषयमा भुरीगाउँ शाखाका प्रमुख भोजराज उपाध्यायसंग जानकारी लिन खोज्दा कर्जा लिने र कर्जाग्राहीको रुपमा नाम भएको ब्यक्ति दिदी–बहिनी भएको बताउँदै कर्जा प्रयोग गर्ने ब्यक्तिले आफुले कर्जा लिएको स्वीकार गरी कर्जा चुक्ता गर्छु भनेर आपसी सहमतीमा कुरा मिलि सकेको भए पनि रेडियोबाट समाचार प्रशारण गरिदिएको भनेर गुनासो गर्नुभयो । यस विषयमा रेडियो टाइगर ९९.२ मेगाहर्जबाट समाचार प्रशारण भएको थियो ।
दिदीको नाममा बहिनीलाई कर्जा प्रवाह गर्न मिल्दो रहेछ नियम अनुसार भनेर गरिएको प्रश्नमा “उहाँले दिनु भने पछि मिलिहाल्छ नि” भन्ने जवाफ फर्काउनु भएका शाखा प्रमुख उपाध्यायलाई तर पिडित उमा कुमारी चौधरीले आफुलाई सो कर्जाको विषयमा कुनै जानकारी नभएको भनेर भन्नुहुन्छ, त्यसो भए तपाईंलाई सो कर्जाको विषयमा पहिले नै जानकारी थियो भनेर प्रतिप्रश्न गर्दा जवाफ बदल्दै आफुलाई पहिले नै थाहा नभएकोे र हाल मात्र थाहा भएको बताउनु भयो ।
आफ्नो संस्थामा मात्र नभएर अन्य संस्थामा समेत यस्तो कार्य गरेको हुन सक्ने बताउँदै शाखा प्रमुख उपाध्यायले सो समयमा उमा कुमारी संग सहमती गरि सकेको भनेर रिताले भने पछि कर्जा प्रवाह गरेको बताउनु भयो । कुराकानीकै शिलशिलामा उहाँले सो समयमा उमा भन्ने ब्यक्ति म नै हो भनेर तेस्रो ब्यक्तिले रकम बुझेको बताउनु भयो । अनी आफ्नो सदस्य पनि चिनिँदैन ? भन्ने प्रश्नमा घटना एक वर्ष पहिलेको भएको र सो समयमा कोरोनाको लहर फेलिएकाले मास्क लगाएर आएको भएर चिन्न नसकिएको भन्दै बचाउको जवाफ दिनुभयो ।
शाखा प्रमुखले कुराकानीकाे समयमा जवाफ फेरी रहेको कुरालाई विश्लेषण गर्ने हो भने आपसी मिलेमतोमा नै कारोबार भएको हो की भनेर शंका गर्न सकिन्छ ।