भुरीगाउँ, बर्दिया : मधुवन नगरपालिका–१, पत्थरबोझीमा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत दुई विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको छ । विकास प्रेमी युवा समूहको समन्वयमा कम्प्यूटर एसोसिएशन नेपालकी सदस्य सरिता सिंहले आफ्नो जन्मदिनको अवसरमा एक छात्र र एक छत्रा गरी दुई जनालाई जनही पन्ध्र हजारका दरले छात्रवृत्ती प्रदान गर्नु भएको हो ।
साउन २२ गते परेको जन्मदिनको अवसरमा सिंहले सरस्वती आधारभुत विद्यालय पत्थरबोझीमा कक्षा ७ मा अध्ययनरत सन्तोष बोहोरा र कक्षा २ मा अध्ययनरत राधिका परियारलाई १५/१५ हजार रुपैयाँ नगद सहयोग गर्नुभएको विकास प्रेमी युवा समूहका अध्यक्ष गोपाल निरौलाले जानकारी दिनुभयो । छात्रवृत्ती रकम हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक घनराज खत्रीले आर्थिक सहयोग गर्ने सहयोगीदाता र समन्वय गर्ने विकास प्रेमी युवा समूहलाई धन्यवाद दिँदै छात्रवृत्ती रकमले निज विद्यार्थीहरुको भरणपोषण, लालनपालन र पठनपाठनका लागि ठुलो सहयोग पुगेको बताउनु भयो ।
मधुवन नगरपालिका–१, पत्थरबोझीमा रहेको सरस्वती आधारभुत विद्यालयमा १९२ विद्यार्थी अध्ययनरत रहेका छन् भने आर्थिक रुपमा विपन्न, ससहाय र अनाथ ३० जना छात्र र १५ जना छात्रा गरी ४५ जना आवासिय रुपमा अध्ययनरत छन् । आर्थीक अभावका कारण आवासिय रुपमा अध्ययनरत विद्यार्थीहरुको अध्ययनमा समस्या भएकाले सहयोगी दाताहरुलाई सहयोग गर्न पनी प्रधानाध्यापक खत्रीले आग्रह गर्नुभयो ।