online-aama-surachhya-sandesh

“देउ घुघरी”, “लेउ घुघरी” को नारा लगाउँदै गुरही पर्व सकियो

Sambad ADD long

बगनाहा, बर्दिया : बर्दिया सहित पश्चिम तराईका थारु समुदायले धुमधामका साथ आज गुरही पर्व मनाएका छन् । साउन शुक्ल पक्षको पञ्चमी तिथि अर्थात् नाग पञ्चमीको दिनमा गुरही पर्व मनाउने गरिन्छ ।

साँझको समयमा गाईगोरु चरेर गोठमा भित्रिएपछि बडघर (भलमन्सा) को पहलमा गाउँका दाजुभाइ, दिदीबहिनीहरु नयाँ कपडा लगाएर थालमा भुजा, कपडाको रंगीविरंगी गुरिया (गुडिया) लिएर गुरही ठटाउने गन्तव्य कायम गरिएको ठाउँमा जाने गर्दछन् । गुरही ठटाउने ठाउँमा गाउँका भद्र भलादमी देखि बच्चाबुढासम्म भेला हुने गर्दछन् ।

आजको दिनमा महिलाहरुले चिरकुत अर्थात् रंगीचंगी कपडाबाट पुतला बनाउने गर्दछन् जसलाइ गुडिया भनिन्छ । गुडिया शब्दबाट नै थारु भाषामा गुरिया भएको हो । गुरही पर्वको रौनक विशेष गरी बेलुकी पख देखिन्छ । केटाकेटीहरु आफ्नो परम्परागत पोसाकमा सजिएका हुन्छन् भने केटिहरुले गुरियासंगै घुघरी लिएर गाउँ भन्दा बाहिर वा गुरही ठटाउने गन्तव्यमा जाने गर्छन् ।

सबै भेला भई सकेपछि गाउँका बडघरले एकै सासमा (एकसंस्सु) दुबो घाँसमा गाँठो पार्छन । गाँठो पारि सकेर त्यसलाई ठटाउने आदेश दिएपछि जम्मा भएका केटाकेटीहरुले आफुले ल्याएको रंगीचंगी कोर्राबाट ठटाउँदै “देउ घुघरी” “लेउ घुघरी” को नारा लगाउने ठाकुरबाबाका थारु अगुवा लहनु थारुले बताउनु भयो । यसरी ‘गुरही’ ठटाउँदा गाउँघरमा विद्यमान रहेका रोगव्याधी र दुःखबाट छुटकारा पाइन्छ भन्ने जनविश्वास रहेको छ ।

गुरही पर्वका दिन खुरमा, बरया, रोटी, घुघरी संगै तेलमा तारेको गेडागुडी खाने चलन रहेको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष समेत रहेका थारु अगुवा श्रीकृष्ण थारुले बताउनु भयो । गाउँभरिएका केटीहरुले गुरियाको पुजा गरेर गुरिया फाल्ने र केटाहरुले लठ्ठी अथवा स्वठाले गुरियालाइ पिट्ने गर्दछन् ।

समय संगै गुरही पर्व लोप हुँदै गएकोमा थारु समुदायका बुढापाकाहरु दुःखी देखिन्छन् । ठाकुरबाबा नगरपालिका–३, मिर्चैया गाउँका बडघर राजु थारुका अनुसार पहिले पहिले गाउँ भरिका बच्चा देखि वृद्ध सम्म सबैले उत्साहका साथ यो पर्व मनाउने गरेकोमा हाल युवा पुस्तामा यो पर्व प्रतिको लगाव बिस्तारै हराउँदै गएको छ ।

समय संगै अहिले परम्परागत स्रस्कृती झल्किने लेहंग, चोली, धोती, गहना कम मात्रामा प्रयोग हुन थालेको मिर्चैया गाउँका बडघर थारुले बताउनु भयो । संस्कृतीको संरक्षणका लागि आज गाउँका अधिकांश युवापुस्तालाई समेटेर गुरही पर्व मनाएको बडघर थारुले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.