onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

मधुवन नगरपालिकामा लागूऔषध दुर्ब्यसनको काहाली लाग्दो बर्तमान र जोखिमपूर्ण भबिष्य

Sambad ADD long

लागू औषध दुर्ब्यसन

परिचय तथा पृष्ठभुमिः मानिसमा तलतल (लत) सिर्जना गरी शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत बनाइ दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागूपदार्थ वा औषध हो । यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ । जसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक तथा शारीरिक स्थितिमा परिवर्तन हुन्छ । यसलाई नशा पनि भन्ने गरिन्छ ।

लागूपदार्थको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो हुन्छ । यसले व्यक्ति स्वयमलाई मात्र नभएर, परिवार, समाज, राजनीति, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै खतरा पैदा गर्दछ । कानूनद्वारा निषेधित गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो । विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ । यो मादक पदार्थ, रक्सी भन्दा दशौं गुणा हानिकारक हुन्छ ।

अहिले बर्दिया जिल्लाकाे मधुवन नगरपालिकामा लागूपदार्थको प्रयोगकर्ता बढिरहेको र त्यसमा युवाको सङ्ख्या अधिक रहेको छ । युवाहरुमा यो समस्या डरलाग्दो रुपमा बढिरहेको छ । युवाशक्ति कुलतमा फसेपछि उनीहरु आफ्ना लागि मात्र नभएर परिवार एवम् समाजको समेत बोझ बनेका छन् । यस्ता दुर्व्यसनीको सङ्ख्या मधुवन नगरपालिकामा उदेकलाग्दो तरिकाले वृद्धि भइरहेको छ ।

लागूऔषधका प्रकारहरुः

क) प्राकृतिक लागूपदार्थः
प्राकृतिक रुपमा उम्रने वा मानिसद्वारा उत्पादित पदार्थहरू जस्तैस् गाजा, चरेस, भाङ्ग, धतुरो, अफिम, रक्सी, आदिलाई प्राकृतिक लागूपदार्थ भनिन्छ ।

ख) कृतिम (औषधि जन्य) लागूपदार्थः
मानव जीवन रक्षाको लागि निर्मित औषधिजन्य पदार्थहरू जसलाई चिकित्सकको सल्लाह विपरित नशा लिनको लागि प्रयोग गर्दछन् त्यसलाई औषधिजन्य लागूपदार्थ भनिन्छ । जस्तैः नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन नो–कफ आदि ।

लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन) बिक्रीको लागि तयार गरिएको स–साना पुडिया (प्याक)हरु

 

लागूऔषध दुर्ब्यसनीमा फसेका ब्यक्तिको लक्षणहरुः

  • स्वभाव र बोल्ने शैलीमा अचानक परिवर्तन आउनु,
  • आँखा रातो हुनु, आँखाबाट आँशु आइरहनु, बोली लरबरिनु,
  • बिना कारण झगडा गरेर आवश्यकता भन्दा बढी पैसा माग्नु र खर्च गर्नु,
  • कक्षामा नियमित नहुनु तथा पढाइको स्तर घट्दै जानु,
  • लगाएको कपडाबाट बेग्लै किसिमको गन्ध आउनु,
  • घरबाट नगद तथा बहुमूल्य सामान हराउनु,
  • एक्लोपना रुचाउनु तथा बोली(चाली कम गर्नु,
  • पुरानो साथीहरू छोड्दै जानु, नशा तथा अन्य क्रियाकलापको लागि ढाँट्दै जानु,
  • शारीरिक रुपमा कुपोषण भए जस्तो कमजोर देखिनु,
  • शरीरमा काटिएको, रगत, निलाडाम र चोट पटक देखिनु
  • खल्तीमा, कोठामा चुरोट, लाइटर, सलाई, मैनबती चम्चा झिलझिले कागज आदि भेटिनु,
  • अचानक निर्णय परिवर्तन गर्नु तथा तुरुन्त आवेगमा आउनु,
  • खानामा रुचि नहुनु, मुटुको चाल घटबढ हुनु,
  • धेरै जसो घरबाहिर बस्न खोज्नु, ढिलो घर आउनु,
  • आखा जुधाएर वा सिधा भएर कुरा गर्न नसक्नु,
  • सुत्ने र उठ्ने समयमा अचानक परिवर्तन आउनु, राति उठ्नु र बिहान अबेरसम्म सुत्नु, आदि ।

 

लागूऔषध र मादक पदार्थको दुर्व्यसनबाट बच्ने उपायहरूः

  • नकारात्मक प्रस्तावहरूलाई सदैव नाई भन्न सक्ने क्षमताको विकास गर्ने,
  • आफ्नो खाली समयलाई घरको काम काज, भ्रमण, किनमेल तथा सेवाको काममा मन लगाई प्राकृतिक तरिकाले आनन्द लिने प्रयास गर्ने,
  • ध्यान, योग वा अन्य कुनै क्रियाकलापमा आवद्ध रहने,
  • साहित्य, संगीत, कला, खेलकुद र नृत्य जस्ता सृजनशील कार्यमा आफूलाई व्यस्त राख्ने,
  • खराब आचरण भएका साथीहरूको समूहमा कहिले पनि सहभागी नहुने,
  • गलत कार्यमा सहभागी भई आफ्नो छुट्टै पहिचान बनाउने कोशिश नगर्ने,
  • अभिभावकहरूले छोराछोरीहरूलाई लागू औषध तथा मदिराको दुर्व्यसनमा पर्नबाट बचाउने उपायहरू
  • छोराछोरीहरूको हरेक कृयाकलाप साथी भाइ, विद्यालय समय बाहेक अरु बेला व्यतित गर्ने ठाउँ, शारीरिक हाउभाउ, समयको पालना नगर्ने आदि बारे जानकारी राख्ने,
  • आवश्कताभन्दा बढी पैसा नदिने,
  • खेलकुद, कला तथा सांगीतिक कार्यक्रम लगायतका गतिविधिमा बढी संग्लन गराउने,
  • छोराछोरीहरूलाई गलत साथीहरूको संगतमा पर्न नदिने,
  • छोराछोरीहरूलाई मद्यपान तथा ध्रुम्रपानको प्रयोगबाट टाढा राख्ने,
  • लागू औषध तथा मदिराको असरको बारेमा जानकारी गराउने,
  • छोराछोरीको पढाइ तथा अतिरिक्त कृयाकलाप बारे स्कुलमा बुझ्ने,
  • छोराछोरीसँग पर्याप्त समय बिताउने र कुराकानी गर्ने,
  • उच्छृङ्खल गतिविधि गर्न नदिने र सरसफाईमा विशेष ध्यान दिने,
  • छोराछोरीको बानी व्यहोरा, एकान्तमा बस्न रुचाउँछ वा रुचाउँदैन, पढाइमा दिलचस्पी दिए, नदिएको र गृहकार्य गरेको छ छैन आदि विषयमा निगरानी राख्ने ।
लागूऔषध (ब्राउन सुगर) लाई कागजको पत्ता (पुडिया) बनाइ मोटरसाइकलको Key Cover मा लुकाइ छिपाइ राखेको

 

मधुवन नगरपालिकामा लागु औषध दुर्ब्यसनको काहाली लाग्दो बर्तमान अवस्थाः

घटनाक्रमः

  • मिति २०७९।०३।२० गते मधुवन नगरपालिका वडा नम्बर ५ स्थित १७ नम्बर चोकमा लागूऔषध ब्राउन सुगरको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा उक्त स्थान बस्ने वर्ष २६ को युवक ब्राउन सुगर सहित पक्राउ ,
  • मिति २०७९।०३।२१ गते वर्ष २८ को युवक ३ ग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेको,
  • मिति २०७९।०४।०१ गते मधुवन नगरपालिका वडा नम्बर ८ टिसीयन बस्तिको वर्ष २३ को युवक लागूऔषध ब्राउन सुगर सहित प्रहरी टोलिले पक्राउ गरेको,
  • मिति २०७९।०४।०४ गते मधुवन नगरपालिका–८ सुकुम्वासी टोल बस्ने वर्ष २० को युवक लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेको ,

प्रस्तुत घटनाहरु इलाका प्रहरी कार्यालय ढोढरी र सानोश्री बर्दियाले लागू औषध दुर्ब्यसनी बिरुद्ध संचालन गरेको १५ दिने विशेष अभियान अन्तरगत पक्राउ परी अनुसन्धानमा रहेका घटनाहरु हुन् र उक्त अभियान निरन्तर जारी रहेको छ ।

घटनाक्रमलाइ शुक्ष्म तरिकाले अध्ययन गर्दा लागूऔषधको कारोवार, बिक्रि वितरण तथा सेवन सार्वजनिक स्थल, खुल्ला सडक र घरबाट नै भइरहेको जसमा घर परिवारका सदस्य र साना बालबालिकाको प्रयोग गरी लागूऔषधको कारोबारो भएको र सो बारेमा घरपरिवार, समाज, छरछिमेक समेतलाई जानकारी हुँदा समेत त्यस विरुद्ध आवाज र सुचना प्रहरी वा सरोकारवाला निकाय समक्ष नदिँदा लागूऔषध दुर्व्यसनमा फसेका युवा विगत लामो समयदेखि लागूऔषध सेवन तथा बिक्रि बितरण गरी निरन्तर दुर्ब्यसनीको जालो समाजमा भयाबह रुपमा फैलिई ग्रामिण बस्ती, टोलटोलमा ब्राउन सुगर जस्तो महंगो आयातित प्रतिबन्धित लागूऔषधको सहजै बिक्री बितरण भइरहेको तथ्य उल्लेखित घटनाक्रमबाट देखिन्छ ।

यसबाट समेत मधुवन नगरपालिका भित्रको लागूपदार्थ दुर्ब्यसनको अवस्था, लागूऔषध सेवनकर्ता र भविष्यमा हुने जोखिमका बारेमा जो कोहिले अनुमान गर्न सकिन्छ । मधुवन एउटा प्रतिनिधि पात्र मात्र हो, आजको हरेक युवा लागूऔषध दुर्व्यसनको जोखिममा छन्, हरेक समाज र नागरिक दुर्ब्यसनबाट सृजित अपराधबाट पिडित छन् । लागूपदार्थ दुर्व्यसनी गाउँ समाज टोल टोल सम्म भित्र भित्रै फैलिसकेको छ र यो साझा समस्याको रुपमा रहेको कुरामा दुई मत छैन ।

जबसम्म आफ्ना सन्तान दुर्व्यसनी (कुलत) मा फसिसकेको अवस्थामा पनि अभिभावकलाई बिश्वास लाग्दैन, समाजमा बस्ने अन्य व्यक्तीलाई सरोकार र चासोको बिषय बन्दैन र सरकारी तथा सरोकारवाला निकायले प्रभावकारी कार्यसम्पादन नगरे सम्म लागूऔषध दुर्व्यसनीको जालो नियन्त्रण गर्न सहज छैन ।

अत: लागूऔषध दुर्ब्यसनी नियन्त्रण गर्न प्रत्येक ब्यक्ती, नागरिक, घरपरिवार, प्रहरी, स्थानिय निकाय, विद्यालय लगायत सरोकारवाला निकायहरुले सक्रिय रुपमा आ–आफ्नो भूमिका निर्वाह गर्नु पर्दछ । यस जोखिमपूर्ण चुनौतिलाई निराकरण तथा नियन्त्रण गर्न हरेक अभिभावकले आफ्नो बालबालिकाको क्रियाकलाप माथी निगरानी राख्नु पर्दछ, समाज, जनप्रतिनिधी, राजनैतिक दल, संघसंस्थाले लागूऔषध दुर्व्यसनीलाई कठोर रुपमा बहिस्कार र निरुत्साहित गर्ने प्रण गर्नु पर्दछ र सरोकारवाला निकाय, प्रहरी ,अदालतले लागूऔषध सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन, नियन्त्रण र न्यूनीकरण गर्न ईमान्दार प्रयासको जरुरी रहेको छ ।

साथै लागु औषध दुर्व्यसनी (कुलत) मा फसेका व्यक्तीको पुनर्स्थापना, उपचार र सामाजिकीकरण गर्न तथा लागूऔषध दुर्व्यसनीको बारेमा जनचेतनामुलक कार्यक्रम लगायत व्यबस्थापकीय जिम्मा स्थानिय निकायले लिई लागूऔषध साझा बिकृतीको रुपमा मनन गरि यसका लक्षण, बेफाइदा र दुर्ब्यसनीबाट बच्ने उपायको बारेमा गम्भिर चिन्तन गरी सबैको सामुहिक प्रयासबाट भयावह रुपमा फैलिएको लागूऔषध दुर्व्यसनीको जालोलाई चिर्दै दुर्व्यसनी मुक्त समाज बनाउन लाग्नु पर्ने आजको प्राथमिक आवश्यकता रहेको छ ।

प्रहरी निरिक्षक मोहनजंग बुढथापा हाल इलाका प्रहरी कार्यालय ढोढरी, बर्दियामा कार्यालय प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । – सम्पादक

Leave A Reply

Your email address will not be published.