मधुवन, बर्दिया : मधुवन नगरपालिका–४, बेलवामा कुलिङ्ग प्रविधि सहितको सेमी हाईटेक नर्सरी स्थापना भएको छ । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाको आर्थिक तथा प्रविधीक सहयोगमा हाईटेक नर्सरी स्थापना गरिएको हो ।
एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाको १४ लाख ८६ हजार ४६० रुपैयाँ ७६ पैसा र अनुदानग्राहीको योगदान रकमअन्तरगत ४ लाख ९५ हजार ४८६ रुपैयाँ ९२ पैसा गरी कुल १९ लाख ८१ हजार ९४७ रुपैयाँ ६८ पैसाको लागतमा कुलिङ्ग प्रविधि सहितको सेमी हाईटेक नर्सरी स्थापना गरिएको माया नर्सरी फर्मका प्रबन्धक माया योगीले बताउनु भयो ।
हाईटेक नर्सरी १२ मिटर चौडाई, २८ मिटर लम्बाई सहित कुल क्षेत्रफल ३३६ वर्ग मिटरमा फैलिएको हाईटेक नर्सरीले प्रत्येक वर्ष ८५ हजार विभिन्न जातका बिरुवाहरु र बेमौसमी जातका फलफूलका बिरुवाहरु उत्पादन गर्ने लक्ष्य लिएको प्रबन्धक योगीले बताउनु भयो । सेमी हाईटेक नर्सरी पूर्वाधार निर्माण तथा ब्यवस्थापन कार्यक्रम अन्तरगत माया नर्सरी फर्ममा कुलिङ प्रविधि सहितको हाईटेक नर्सरी स्थापना गरिएको हो ।