onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

कार्यपालिका सदस्य चयनका लागि ठाकुरबाबामा निर्वाचन प्रक्रिया सुरु

Sambad ADD long

भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा स्थानीय तह निर्वाचन अन्तरगत कार्यपालिका सदस्य चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचनका लागि नगरपालिकामा मतदाता नामावली प्रकाशन, अन्तिम नामावली प्रकाशन, मनोनयन दर्ताजस्ता कार्य भएका छन् ।

निर्वाचन आयोगले १५ दिनभित्र कार्यपालिका सदस्यको निर्वाचन गरी सक्न निर्देशन दिएपछि ठाकुरबाबा नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको गतिविधि सुरु गरेको हो । नगर कार्यपालिकाको महिला सदस्य पदमा पाँच जना र नगर कार्यपालिकाको दलित वा अल्पसंख्यक सदस्य पदमा तीन जना गरी आठ जना कार्यपालिका सदस्य चयन गर्न १६ गते निर्वाचन हुनेछ । ठाकुरबाबा नगरपालिकाको कार्यपालिका सदस्यका लागि १० जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत प्रेम प्रसाद देबकोटाले जानकारी दिनुभयो ।

“तीन पार्टीबाट १० जनाको उम्मेदवारी परेको छ”, देबकोटाले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा विजेता बनेका पाँच जना र बाहिरबाट तीन जना हुने गरी हुने आठ जना कार्यपालिका सदस्य चुनिनेछन् ।”

कार्यपालिका सदस्यका लागि नेपाली काँग्रसबाट ७ जनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रसले महिला सदस्यका लागि रामरानी थारु, रिता कुमारी चौधरी, सरिता थारु र सुष्मा खड्का तथा दलित सदस्यका लागि पुजा सुनार, मोहन सुनार र शिब बहादुर बि.क.लाई उम्मेदवार बनाएको छ ।

त्यस्तै नेकपा एमालेको तर्फबाट महिला सदस्यमा संगम नेपाली र दलित सदस्यका लागि तिल रुपा सर्केनीको उम्मेदवारी परेको छ । नेकपा माओवादी केन्द्रले महिला सदस्यका लागि साबित्रा थापालाई उम्मेदवार बनाएको छ । सम्पूर्ण उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरी सकिएको ठाकुरबााबा नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.