onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबाको वार्षिक समिक्षा : सामाजिक विकास पालिकाको पहिलो प्राथमिकता

नयाँ योजना : दमकलदेखि छोरी बिमा र नि:शुल्क शव वहनसम्म

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१को वार्षिक समीक्षा तथा चालु आर्थिक वर्ष २०८१/८२को नीति, कार्यक्रम तथा बजेटको विषयमा संचारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा ठाकुरबाबा नगरपालिकाले गत आर्थिक वर्षमा गरेका कार्य, लागत बजेट तथा प्रगतीको विषयमा संचारकर्मीहरुलाई जानकारी गराउनुका साथै चालु आर्थिक वर्षको लागि पालिकाले तर्जुमा गरेका योजना एवम् नीति र कार्यक्रम सम्बन्धी छलफल गरेको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले ठाकुरबाबा नगरपालिकाको कार्य एवम् सिकाई र उपलब्धिको जानकारी गराउँदै पालिकाले बनाएको भावी योजनाको जानकारी गराउनुभयो ।

नगरप्रमुख तिलकराम लम्सालले पालिकामा समाजिक कार्यलाई प्राथमिकता दिनुपर्छ भन्ने धेयले शिक्षा र स्वास्थ्यलाई पालिकाले विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले मानवपुँजी सबैभन्दा ठूलो कुरा भएकाले शिक्षामा बढी लगानी गरिएको बताउनुभयो । ठाकुरबाबा नगरपालिकाले सामाजिक विकास अन्तर्गत शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी बढाएको र पालिकाले लगानी बढाएसँगै शिक्षा र स्वास्थ्य क्षेत्रले फड्को मारेको प्रमुख लम्सालले जानकारी दिनुभयो ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको लगानीको प्रतिफल तुरुन्तै नदेखिएता पनि भविष्यमा यसले समाजमा राम्रो प्रतिफल दिने भएकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाएको नगर प्रशासनले जनाएको छ । सामाजिक विकास तर्फ आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड ५९ लाख १० हजार १८२ रुपैयाँ विनियोजित बजेट मध्ये ३२ करोड ७५ लाख ३८४ रुपैयाँ खर्च गरेको छ । जसमध्ये शिक्षा तर्फ २६ करोड, १२ लाख, ४१ हजार ८७० रुपैया र स्वास्थ्य क्षेत्रमा ६ करोड २९ लाख ६० हजार ८ सय ४७ रुपैयाँ खर्च भएको आर्थिक वर्ष २०८०/८१ को प्रगती समिक्षा कार्यक्रममा नगरप्रमुख लम्सालले बताउनुभयो ।

यस्तै नगर उपप्रमुख बिनाकुमारी भट्टराईले पालिकाले आफ्नो तर्फबाट नगरबासीलाई सहज र स्तरीय सेवादिन हरसम्भव प्रयत्न गरेको बताउनुभयो । शिक्षा, स्वास्थ्यसंगै कृषीलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । विकास निर्माणका काममा स्थानीयतहबाट हुनसक्ने सबै कार्य गर्न आफुहरु तयार रहेको भट्टराईले जानकारी दिनुभयो । सामुदायिक विद्यालयका विद्यार्थीहरुमा एक रुपता ल्याउनका लागि नगरका सम्पुर्ण विद्यालयमा एकै किसिमका पोशाक लागुगर्दै टाई, वेल्ट र जाडोमा लगाउने ट्रयाकसुट पालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

ठाकुरबाबा नगरपालिकाले १० बर्षे शिक्षा योजना, विद्यालय दर्पण स्थानीय पाठ्यक्रम र स्रोत सामाग्री संगालो, नगर शिक्षा ऐन, नियमावली र कार्यविधि बनाएर लागु गरिसकेको छ । सामुदायिक विद्यालयमा ४ वटा बसको व्यवस्थापन र कक्षा १० सम्म सबैका लागि र कक्षा १२ सम्म लक्षित समुहका लागि निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । सामुदायिक विद्यालयमा स्कुल बस थप्दै जाने योजना रहेको ठाकुरबाबा नगरपालिका प्रशासनले जनाएको छ ।

 नयाँ योजना : दमकलदेखि छोरी बिमा र नि:शुल्क शव वहनसम्म

ठाकुरबाबा नगरपालिकाले यस वर्षदेखि केही नयाँ र महत्वपूर्ण कार्यक्रमहरू सञ्चालनमा ल्याएको जानकारी गराएको छ । नगरपालिकाले बालविवाह न्यूनीकरण र छोरीहरूको पढाईको स्तर वृद्धि गर्नका लागि छोरी बिमा कार्यक्रम तथा ठाकुरबाबा नगरपालिकामा दमकल सेवा नभएकोले अत्यावश्यक भएकोले दमकल सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । छिट्टै नै नगरबासीहरुको लागि निःशुल्क शव वाहन सेवा सञ्चालन तथा भुरीगाउँ चोकदेखि नगरपालिकाको कार्यालयसम्म निःशुल्क इ-रिक्सा सञ्चालनमा ल्याउने योजना पालिकाले बनाएको प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले बताउनुभयो ।

यस्तै एक घर एक बृक्षरोणको अभियान सञ्चालन गरी ११ हजार ५६४ घरधुरीमा वृक्षारोपण गर्ने, मेडिकलजन्य फोहोर व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याउने, नगरपालिकामा कोल्डरुम सञ्चालनमा ल्याइ कृषकहरुबाट उत्पादित तरकारीलाई भण्डारण गर्ने लगायतका नयाँ कार्यक्रमहरू ल्याइएको समेत उहाँले जानकारी दिनुभयो । उहाँले पुराना र महत्वपूर्ण कार्यक्रमहरूलाई निरन्तर सञ्चालन गर्दै यस वर्ष देखि केही नयाँ कार्यक्रमहरू पनि थप गर्न लागिएको जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.