onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा नगरपालिकाका विद्यालयहरूमा संयुक्त अनुगमन

ठाकुरबाबाका दुई वटा विद्यालयहरू दोस्रो ताराको तयारीमा 

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका अन्तरगतका चार वटा विद्यालयहरूमा अनुगमन गरिएको छ । वाटर एड नेपालको आर्थिक तथा नेपाल प्रजनन स्याहार केन्द्र (एनएफसीसी) र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल (एनएफडी–एन)को प्राविधिक सहयोगमा बेस बर्दियाद्वारा परियोजना सञ्चालन भएका विद्यालयहरूमा अनुगमन गरिएको हो ।

ठाकुरबाबा नगरपालिका सामाजिक विकास समितिका संयोजक एवम् वडा नम्बर ८ का वडा अध्यक्ष टेक बहादुर बडुवाल सिँजापतीको संयोजकत्वमा वडा नम्बर १ डुम्रेनीको जनचाहाना आधारभूत विद्यालय, वडा नम्बर २ कर्मलाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर ३ नेउलापुरमा रहेको सरस्वती आधारभूत विद्यालय, वडा नम्बर ५ शाहिपुरको शारदा आधारभूत विद्यालयमा अनुगमन गरिएको हो  ।

वाटर एड नेपालको आर्थिक सहयोग तथा नेपाल प्रजनन स्याहार केन्द्र (एनएफसीसी) तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल (एनएफडी–एन) को प्राविधिक सहयोगमा बेस बर्दियाद्वारा सञ्चालन भई रहेको लैङ्गिक किशोर–किशोरी समावेशी विद्यालयका लागि समावेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा कार्यक्रम अन्तरगत सो विद्यालयहरूमा अनुगमन गरिएका बेस बर्दियाका तालिम अधिकृत दुर्गा चौधरीले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा विद्यालयको खानेपानी, शौचालय तथा सरसफाइको अवस्थाको अध्ययन मूल्याङ्कन तथा राष्ट्रिय मापदण्ड अनुसार अनुगमन गरिएको चौधरीले बताउनुभयो । बेस बर्दियाका तालिम अधिकृत चौधरीका अनुसार शाहिपुरको शारदा आधारभूत विद्यालय र डुम्रेनीको जनचाहाना आधारभूत विद्यालय पहिलो तारा प्राप्त गरी दोस्रो तारा प्राप्त गर्ने चरणमा रहेको छ ।

विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी कार्यविधि २०७४ को दोस्रो संशोधन २०७६ अनुसार अनुसूची १ सूचकको आधारमा अनुसूची २ अनुसार स्कोर दिइएको विद्यालयलाई सो मूल्याङ्कन गरेर कार्यविधिको बुँदा नम्बर ८.१ को ‘ग’ अनुसार सामाजिक विकास समितिको बैठक मार्फत १ तारा प्रमाणित गरिएको नगरपालिकाका शिक्षा सुपरिवेक्षक नन्दाराम अधिकारीले बताउनुभयो ।

परियोजनाले बर्दियाको १३ हजार ५०० बालबालिकाहरूसम्म पुग्ने लक्ष्य लिएको छ । खानेपानी, सरसफाइ, स्वच्छताको संरचना सुधार गर्न सिकाइको वातावरणको सृजना गर्दै, दिगो विकास गर्ने तथा गुणस्तरीय शिक्षामा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । विद्यालयको खानेपानी सरसफाइ स्वच्छताको पहुँचयुक्त संरचना निर्माणका लागि भौतिक तथा संस्थागत संरचनाहरू सबै अपाङ्गता भएका बालबालिकाहरूका लागि अपाङ्गमैत्री तथा किशोरीमैत्री बनाउनका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।

सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ८ का वडाध्यक्ष टेक बहादुर बडुवाल सिँजापतीको संयोजकत्वमा भएको अनुगमन कार्यक्रममा ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी भट्टराई, ठाकुरबाबा नगरपालिका प्रवक्ता रामरानी थारु, वडा नम्बर ५ का वडाध्यक्ष शम्भुप्रसाद थारु, शिक्षा शाखा प्रमुख सिताकुमारी भण्डारी, शिक्षा सुपरिवेक्षक नन्दराम अधिकारी र नवराज ढुङ्गाना, स्वास्थ्य शाखा प्रमुख इन्द्रबहादुर राजवंशी, बेस संस्थाका तालिम अधिकृत दुर्गा चौधरी, वाटर एड नेपालकी अधिकृत मञ्जु भक्त, बेस बर्दियाका कोषाध्यक्ष राधेश्याम थारु, फिल्ड सुपरभाइजर शान्ति चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.