भुरीगाउँ, बर्दिया : पुर्व पश्चिम राजमार्ग अन्तर्गत लुम्बिनी प्रदेशको बर्दिया र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको सिमानामा रहेको कर्णाली चिसापानी पुलबाट सबै किसिमका यातायातका साधनको आवागमन सुचारु भएको छ । लाइटर बोकेको ट्रकमा सोमबार दिउँसो एक्कासि आगलागी भएपछि अवरुद्ध भएको एक हप्ता पछि कर्णाली चिसापानी पुलबाट यातायातका साधन अहिले बिहान ९ बजेदेखि सुचारु भएको हो ।
जिल्ला समन्वय समिति बर्दिया प्रमुख सूर्यबहादुर विष्ट, ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलकराम लम्साल, उपप्रमुख बिनाकुमारी भट्टराई, बर्दियाका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, लम्किचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लव शाही लगायतको टोली कर्णाली चिसापानी पुलमा पुगेर स्थलगत अनुगमन पश्चात् साना ठुला गाडी आउजाउ सुचारु गरिएको हो ।
आवागमन सुचारु भए पनि निर्माण कार्य भइरहेकाले पुलमा भने एकतर्फी रूपमा पालैपालो सञ्चालन गराउन दुवै तर्फ ट्राफिक प्रहरी खटाइने प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले जानकारी दिनुभयो । एउटा मात्रै पिलरमा अडिएको कर्णाली चिसापानी पुल २०५० साल मङ्सिर २८ गते निर्माण भएको हो । लाइटर बोकेको ट्रक पुलमा पुग्दा सोमबार एक्कासि आगलागी भएपछि पुलमा रहेका फलामे तारका लट्ठा जलेपछि आवागमन अवरुद्ध भएको थियो ।
विज्ञ टोली आएर चेकजाँच पश्चात् मर्मत कार्य सुरु भएपछि पुलको एकतर्फ सिमेन्ट ढलान भएको र अर्को तर्फ ढलान कार्य सुरु जारी छ । वैकल्पिक मार्ग हुलाकी सडकबाट बर्दियाको भुरीगाउँ राजापुर हुँदै कैलालीको टिकापुर लम्की भएर आउजाउ गरिरहेका यातायातका साधनहरू अहिले बिहान ९ बजेदेखि कर्णाली चिसापानी पुलबाट आवागमन सुचारु गरिएपछि यातायातका साधनहरू पहिले जस्तै आउजाउ हुन थालेका छन् ।