onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

स्थानीयसँग क्वारेनटाइन समन्वयका विषयमा अन्तरक्रिया

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–५, शाहीपुरमा क्वारेनटाइन समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पशु क्वारेनटाइन कार्यालय, नेपालगन्ज बाँकेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत पशु क्वारेनटाइन कार्यालय, पशु क्वारेनटाइन चेक पोस्ट गुलरियाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पशु क्वारेनटाइन कार्यालय नेपालगन्ज, बाँकेका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. राकेश मोहन सिंहले पछिल्लो समय पशु क्वारेनटाइन सम्बन्धी कार्य के कसरी भइरहेका छन् भन्ने विषयमा सहभागीहरूलाई जानकारी गराउनुभयो । पशु चिकित्सक डा. सिंहले देशभरि पूर्वदेखि पश्चिमसम्म ८ वडा क्वारेनटाइन कार्यालय रहेको जनाउँदै पशु क्वारेनटाइन कार्यालय नेपालगन्ज बाँके अन्तरगत ३ वटा चेक पोस्ट रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पशु क्वारेनटाइन कार्यालय नेपालगन्ज बाँके अन्तरगत पशु क्वारेनटाइन चेक पोस्ट जमुनाहा, पशु क्वारेनटाइन चेक पोस्ट गुलरिया र पशु क्वारेनटाइन अस्थायी चेक पोस्ट भालुवाङ दाङ रहेका छन् । पशु क्वारेनटाइन चेक पोस्टबाट हुने पशुपक्षी, पशुजन्य पदार्थ र पशु उत्पादन सामाग्रीको आयात निर्यातको अवस्थाको बारेमा जानकारी दिनुहुँदै वरिष्ठ पशु चिकित्सक डा. सिंहले विभिन्न चेक पोस्टबाट अवैध रूपमा ओसारपसार भइरहेका सामाग्रीहरू नष्ट गर्ने गरिएको समेत बताउनुभयो ।

मानिसहरूमा ६० देखि ७० प्रतिशत रोगहरू पशुबाट नै सर्ने भएकाले स्वस्थ खाऔँ, स्वस्थ रहौँ भन्ने पशु क्वारेनटाइनको मुख्य उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो । कुनै पनि पशुलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा अनिवार्य १ हप्ता क्वारेनटाइनमा राख्नुपर्ने जनाइएको छ । क्वारेनटाइनमा नराखेमा लम्पिस्किन, बर्डफ्लु, बङ्गुरमा लाग्ने स्वाइन फिवर जस्ता रोग व्यापक रूपमा फैलिने त्रास बढ्ने उहाँले बताउनुभयो ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शम्भु प्रसाद थारुको प्रमुख आतिथ्ययता तथा पशु क्वारेनटाइन कार्यालय नेपालगन्ज, बाँकेका प्रमुख वरिष्ठ पशु चिकित्सक डा।राकेश मोहन सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । ठाकुरबाबा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गणेश कुँवरको विशेष आतिथ्ययता रहेको थियो भने पशु क्वारेनटाइन कार्यालय नेपालगन्ज बाँके पशु स्वास्थ्य प्राविधिक इन्दु रेग्मी, पशु क्वारेनटाइन चेकपोस्ट गुलरियाका पशु स्वास्थ्य प्राविधिक नारायण प्रसाद पोख्रेल, ठाकुरबाबा नगरपालिका पशु सेवा शाखाका प्रमुख अमरबहादुर शाही, मासु व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.