जन्म मिति : विक्रम संवत् २००८।१०।०४
चुरे माध्यमिक विद्यालयमा सेवा प्रवेश : विक्रम संवत् २०३१।०९।२९
अवकाश मिति : विक्रम संवत् २०६८।०८।२०
विक्रम संवत् २०२० सालमा दाङबाट यौटा किशोर कक्षा ६ सम्मको अध्ययन गरी बर्दियाको नेउलापुर पुगेर गाउँमा बास बस्न पुग्छ र कालान्तरमा त्यहीँको बासिन्दा हुन्छ । गुलरियाको महाकवि देवकोटा माध्यमिक विद्यालयमा फेरि पढ्न जाँदा जिल्ला भरिमा थारु समुदायका जम्माजम्मी दुई वटा विद्यार्थी हुन्छन् ।
त्यहाँ केही वर्षको अध्ययनपछि ढोढरीको स्कुलमा २ वर्ष पढाएपछि विक्रम संवत् २०२९ सालमा प्रधानपञ्च जुडपानीका मृगेन्द्रबहादुर सिंह र श्रीराम थारुको आग्रहमा जुडपानीको प्राथमिक विद्यालयमा र विक्रम संवत् २०३१ सालमा अहिले चुरे माध्यमिक विद्यालय रहेको त्यति बेला नयाँ खुलेको स्कुलमा पढाउन थालेपछि शिक्षणको लामो यात्रामा प्रवेश हुन्छ । ती किशोर अनवरत शिक्षण पेसामा रहे पनि टाइँफुइँ र फुर्तिफार्तिमा कहिल्यै देखिएनन् । बस्, विद्यार्थीलाई पढाउने आफ्नो निरन्तरको कर्तव्यपरायणता बाहेक अरू कुनै कुरामा चासो नभएका एक निरन्तरका साधक । ती साधक हुन्: चुरे माध्यमिक विद्यालय वगनाहाका प्रा.वि.तहका शिक्षक बुद्धिमान चौधरी ।
मलाई त बुद्धिमान सरले पढाउनु भएन तर उहाँले चउरमा गोलो घेरा बनाएर बिचमा आफू उभिएर केटाकेटीलाई पढाउँदै गरेको सम्झन्छु । उहाँको जीवनशैली, बोलीचाली र लवाई खवाइ कुनै बुद्धिमान मानिस भन्दा कम थिएन । पातलो शरीरमा सेतो कमिज सुरुवाल, इस्टकोट या कोट, घाँटीमा एउटा मफलर र ढाका टोपीमा उहाँको गेटअपले ध्यान तान्थ्यो । उहाँ चुरेको स्थापनाकालमा चुरे माध्यमिक विद्यालय स्थापित गर्ने महारथीहरूका लागि ससाना केटाकेटीलाई पढाउने एक असल गुरु देवता कहाँ पाइएला भनी कालिगण्डकीको किनारमा देउता खोज्न हिँडेको कुनै पथिकले भेटेको शालिग्राम जस्तै साबित हुनुभयो । ढुङ्गा खोज्दै जाँदा मिलेका देउता प्रकट हुनुभयो ।
जन्मजात शिशुले प्रतिकूल परिवारमा पूरै उमेरको घामपानी सहेजस्तै चूरे स्कुल र बुद्धिमान सरले समयको एउटै अन्तरालमा एउटै घाम तापेका छन्, एउटै शीत लहर भोगेका छन् । चूरेका रङ्गिन दिनहरूको उर्वर अवस्था त धेरैले देख्न भोग्न पाए तर यसको स्थापना देखि का उतार चढाव र आरोह अवरोहका ज्यूँदो साक्षीमध्येका एक बुद्धिमान सरको जीवन बबईमा बगेको पानीजत्तिकै सङ्लो छ, मन सिमलको रुखमुनि बहने पवन जत्तिकै पवित्र छ र शरीर दुनियाँलाई बुद्धि बाँड्दिबाँड्दा खारिएको मस्तिष्कले युक्त छ भन्ने कुरा विद्याप्रसाद खनालसँग उहाँले गरेको कुराकानीको भिडियोले छर्लङ्ग बनायो ।
मलाई स्कुलभित्रको कक्षाकोठामा नपढाए पनि स्कुलबाहिरको जीवनको कक्षाकोठामा उहाँबाट धेरै ज्ञान प्राप्त भएको छ । यी ढुङ्गा खोज्दा मिलेका देउताको स्थान सदा देउताकै सरह रहोस् ।