भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले पालिकामा रहेका मौरी पालक किसानहरूका लागि मौरीसहितको घार हस्तान्तरण गरेको छ । ठाकुरबाबा नगरपालिका–१, डुम्रेनीमा रहेको सगरमाथा माहुरी पालन तथा एकीकृत कृषक समूहलाई मौरीसहित घार हस्तान्तरण गरिएको हो ।
ठाकुरबाबा नगरपालिका कृषि उपशाखाको आयोजनामा समूहका सदस्यहरूलाई कृषि व्यवसाय सञ्चालनका लागि अनुदान स्वरूप १ लाख रुपैयाँ अनुदान सहयोगमा २० वटा मौरी सहितको घार नगर प्रमुख तिलकराम लम्सालले हस्तान्तरण गर्नुभएको हो । समूहको १ लाख लगानी र नगरपालिकाको १ लाख अनुदान गरी २ लाखको साझेदारीमा मौरी पालन व्यवसाय सञ्चालन गर्न लागिएको समूहका कोषाध्यक्ष तारा केसीले जानकारी दिनुभयो ।
समूहमा आबद्ध ४८ जना सदस्यहरूले सामूहिक रूपमा मौरी पालन व्यवसाय सञ्चालन गर्न लागेका कोषाध्यक्ष केसीले बताउनुभयो । मौरी पालन व्यवसाय सञ्चालनले ठाकुरबाबा नगरवासीहरूका लागि प्राकृतिक मह उत्पादन हुने तथा आयआर्जनमा समेत टेवा पुग्ने जनाइएको छ । मह स्वास्थ्यका लागि पनि निकै फलदायी हुने जनाइएको छ । यति वेला तोरी, रुदिलो, तिते, जामुना लिची लगायत अन्य फूलहरू फुल्ने भएकाले मौरी व्यवसाय सञ्चालनमा सहज हुने कृषकहरूले अपेक्षा गरेका छन् ।
ठाकुरबाबा नगरपालिकामा मौरी पालन व्यवसाय सञ्चालन गर्दा पालिकाबाट पनि सहयोग पाएपछि आयआर्जनका साथै स्वास्थ्यका लागि पनि फलदायी हुने भएकाले मौरी पालन व्यवसाय सञ्चालन गर्नका लागि कृषक उत्साहित भएका छन् । नगर प्रमुख तिलकराम लम्सालले समूहलाई मौरीसहितको घार हस्तान्तरण गरे लगत्तै मौरी पालन व्यवसाय सञ्चालनका लागि नगरपालिकाले अनुदान दिएकोमा समूहले नगरपालिकालाई धन्यवाद व्यक्त गर्दै आफूहरू खुसी भएको बताएका छन् ।
ठाकुरबाबा नगरपालिका १ का वडा अध्यक्ष निमराज खनालको अध्यक्षता तथा नगर प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्ययतामा मौरीसहितको घार हस्तान्तरण गरी उद्घाटन गरिएको समूहका कोषाध्यक्ष तारा केसीले जानकारी दिनुभयो । कार्यक्रममा नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुव बहादुर बम, वडा नम्बर १ का कृषि सेवा केन्द्र प्रमुख वीरेन्द्र रावत, सगरमाथा माहुरी पालन तथा एकीकृत कृषक समूहका अध्यक्ष नन्दराज लामिछाने, उपाध्यक्ष गोरख बहादुर बम, सचिव दीपकप्रसाद खनाल, सहसचिव दिर्गराज जैसी लगायत सदस्यहरूको सहभागिता रहेको कोषाध्यक्ष तारा केसीले जानकारी दिनुभयो ।