ठाकुरद्वारामा नेतृत्व विकास तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न
व्यक्तिको व्यवहारसँगै घरपरिवार र समाज परिवर्तनमा सहयोग पुग्ने अपेक्षा
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ ठाकुरद्वारामा नेतृत्व विकास, लागु औषध र दुर्व्यसनी न्यूनीकरण सम्बन्धी २ दिने कार्यक्रम सम्पन्न भएको छ । व्यवहार परिवर्तनसँगै घर परिवार, समाज परिवर्तन गर्ने उद्देश्यले वडा नम्बर ९ को आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकाकी कार्यपालिका सदस्य सावित्रा थापाले स्वागत मन्तव्य राख्दै नेतृत्व विकास, लागु औषध र दुर्व्यसनी सम्बन्धी कार्यक्रम व्यवहार परिवर्तनसँगै समाज परिवर्तनका लागि महत्तवपूर्ण रहेका बताउनुभयो । सोमबार र मङ्गलवार गरी दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा रेडियो टाइगर एवम् संवाद एफ. एम.का प्रबन्ध निर्देशक भावुक योगी, होटेल एशोसिएसन अफ नेपाल (हान) का अध्यक्ष मोहनलाल चौधरी, देविदत्त गणका मेजर युद्ध कुँवर लगायतले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेतृत्व विकास, लागु औषध र दुर्व्यसनका बारेमा सहभागीहरूलाई जानकारी गराइएको छ ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ की वडा अध्यक्ष राधा चौधरीले बालविवाह न्यूनीकरण, लागु औषध नियन्त्रणका लागि विद्यालय तथा चोक चोकमा सडक नाटकको आयोजना गर्दा समेत प्रभावकारी नभएको बताउँदै नेतृत्व विकास, लागु औषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धी कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्नुभयो । व्यक्तिको व्यवहारसँगै घरपरिवार, समाज परिवर्तनमा सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ की वडा अध्यक्ष राधा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बडघर, टोल विकास समितिका अध्यक्ष, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरू, वन उपभोक्ता समितिका सदस्य तथा पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।