भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को सामाजिक परिक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुती तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । समुदायले महसुस गरेको उपलब्धि, अनुभव, बुझाई र दृष्टिकोण थाहा पाउने एक प्रजातान्त्रिक प्रक्रियाको रुपमा सामाजिक परीक्षणलाई लिइन्छ ।
सेवा प्रदान गर्ने क्रममा प्राप्त उपलब्धि र परिवर्तन तथा सुधारात्मक पक्षहरुको तेस्रो पक्षद्वारा लेखाजोखा गरी यथार्थ विवरण सार्वजनिक गर्दै समीक्षात्मक निष्कर्ष निकाल्ने र सुधारको पक्षमा जिम्मेवारी सहितको कार्ययोजना समेत तयार गर्ने उद्देश्यले नगरपालिकाको सामाजिक परीक्षण गरिएको हो प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका लक्ष्य तथा प्राथमिकताहरु, गत वर्षको मुख्य उपलब्धिहरु, चालु आर्थिक वर्षका उपलब्धिहरु लगायतका विषयमा छलफल गरिएको छ । कार्यक्रममा सहभागीहरुले सामाजिक परिक्षणको प्रारम्भिक प्रतिवेदन माथि भनाई एवम् सल्लाह सुझाव प्रस्तुत गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तिलकराम लम्सालले सामाजिक विकास र आर्थिक विकासलाई प्राथमिकता दिइ अघि बढेको बताउनुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि नगरपालिका लागि परेको र सो को परिणाम भने अझै आइनसकेको उहाँले बताउनुभयो ।
नगर प्रमुख लम्सालले ठाकुरबाबा नगरपालिका शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्य गरेको भन्दै शिक्षा पत्रकार समूहद्वारा सम्मानित भएको स्मरण गर्दै शिक्षाको गुणस्तर अझ प्रभावकारी बनाउन पालिका भित्रका शैक्षिक संस्थामा अभिभावक शिक्षा, आमा अभिभावक शिक्षा, उत्प्रेणात्मक कक्षाहरु संचालन गरिएको बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालको अध्यक्षतामा नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, शिक्षा सुपरिवेक्षक नन्दराम अधिकारी, विषयगत शाखाका प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, बडघर लगायतको सहभागीता रहेको थियो ।
सामाजिक परिक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुती तथा छलफल कार्यक्रमलाई परिमार्ग मिडिया सेन्टर, गुलरियाले सहजिकण गरेको थियो ।