ठाकुरबाबाले शिक्षालाई प्राथमिकतामा राखेको छ : नगर प्रमुख लम्साल

भुरीगाउँ, बर्दिया : लुम्बिनी प्रदेशको पश्चिम किनारामा रहेको बर्दिया जिल्ला विविधतापूर्ण पर्यटन, कृषि, प्रकृति, संस्कृतिले भरिपूर्ण हरेको छ । बर्दियामा थारु, मधेसी र पहाडी समुदायको बसोबास छ । सयौँ बिघा खेतीयोग्य जमिन रहेको बर्दियाका अधिकांश बासिन्दा खेतीपातीमा निर्भर छन् । यसबाहेक पर्यटन व्यवसायलाई स्वरोजगारको माध्यम बनाइएको छ ।
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले धान र गहुँ उत्पादनमा पालिका आत्मनिर्भर रहेको बताउनु भएको छ । ठाकुरबाबा नगरपालिकाले नि:शुल्क शिक्षालाई प्राथमिकतामा राखेको बताउँदै नि:शुल्क शिक्षा कार्यान्वयन, तहगत शिक्षा दरबन्दी मिलान र शिक्षालाई गुणस्तर प्रदान गर्नका लागि शिक्षक बैङ्क स्थापना गरिएको नगर प्रमुख लम्सालले बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकाको नगर अस्पतालमा सञ्चालनमा रहेको वर्थिङ सेन्टरमा एसी जडान गरिएको र दुई जना मेडिकल अधिकृतसहितको २४ घण्टे इमर्जेन्सी स्वास्थ्य सेवा समेत उपलब्ध गराइएको छ । चार वटा आइसियु सेवासहित २३ बेडको उपचार कक्ष, सिकिसेल र टिबी जाँचका लागि आवश्यक उपकरण, भेन्टिलेटरसहितको सर्प दंश उपचार सेवा र ३ वटा एम्बुलेन्स सेवा ठाकुरबाबा नगरपालिकामा सञ्चालनमा रहेका छन् ।
नगरवासीलाई नगरभित्रै रोजगारी सिर्जना गरी आर्थिक विकासमा जोड्न १२ महिना खेती गर्ने उपकरण र प्राविधिक सहयोगसहित वाली प्रबन्ध कार्यसमेत सुरु गरिएको नगर प्रशासनले जनाएको छ । विपन्न नागरिकका लागि आफ्नै सुरक्षित घरका लागि साझेदारीमा ४ सय १३ घर निर्माण गरिएको छ । चालू आर्थिक वर्ष १० किलोमिटर पक्की, २० किलोमिटर ग्राभेल र ५ किलोमिटर कच्ची सडक निर्माण भइसकेको प्रमुख लम्सालले जानकारी दिनुभयो ।