onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया राष्ट्रिय निकुञ्जमा खर खडाइ खुल्ला

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा हरेक वर्ष झैँ यस वर्ष पनि खर खडाइ खुलेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाका लागि आजदेखि खर खडाइ खुलेको हो । आज र भोलि २ दिनका लागि खर खडाइ खुलेको हो । आज पहिलो दिन खर खडाइ सङ्कलनका लागि झन्डै २२ हजार स्थानीय निकुञ्जभित्र प्रवेश गरेका निकुञ्जका सूचना अधिकारी आशिष न्यौपानेले जानकारी दिनुभयो । स्थानीयहरूलाई निकुञ्ज प्रवेशका लागि ७० वटा नाका खुलाइएको उहाँले बताउनुभयो ।

सुरक्षाका लागि समितिका सदस्य, राष्ट्रिय प्रकृति संरक्षण, सिविएपीयुका युवाहरू, सुरक्षाकर्मी लगायतलाई नाकामा खटाइएको न्यौपानेले जानकारी दिनुभयो । खर खडाइ, बनकस र नर्कट बाहेक अन्य बन पैदावार सङ्कलन तथा निकासी गर्न नपाइ निकुञ्जले जनाएको छ । खर खडाइ, वनकस, नर्कट बाहेक अन्य प्रतिबन्धित वस्तुहरूको निकासी गरेको पाइएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ र बर्दिया राष्ट्रिय निकुञ्ज नियमावली २०५३ अनुसार कारबाही गरिने निकुञ्जले जनाएको छ ।

निकुञ्ज भित्र प्रवेश गर्दा एक्लै दुक्लै नहिँडी समूहमा जान, चहकिलो लुगा लगाएर नजान तथा निकुञ्ज प्रवेश गर्दा खर तथा बाबियो काट्नका लागि आवश्यक पर्ने हँसिया, डोरी, बोक्ने भाटा मात्र लिएर जान आग्रह गरिएको छ । निकुञ्ज भित्र प्रवेश गर्दा वन्यजन्तु जिस्काउने तथा जथाभाबी रूपमा प्लास्टिक जन्य फोहर नफाल्न तथा आगो लाग्ने सामान लिएर नजानसमेत निकुञ्ज प्रशासनले आग्रह गरेको छ ।

अवैध क्रियाकलापमा संलग्न मानिसलाई पक्राउ गरी कारबाहीको लागि पेस गर्ने उपभोक्ता समिति, उप समिति, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान उपसमिति वा व्यक्तिलाई पुरस्कारको व्यवस्था रहेको र अन्यको हकमा नियमानुसार हुने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.