onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया जिल्ला स्तरीय जुनियर/युवा रेडक्रस गोष्ठी सम्पन्न

Sambad ADD long

बगनाहा, बर्दिया : नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला स्तरीय जुनियर/युवा रेडक्रस गोष्ठी शुक्रवार चुरे क्याम्पस बगनाहामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव नवराज ढुङ्गानाले विद्यार्थीहरूमा मानवीय भावनाको विकास गरी उनीहरूलाई सामाजिक सेवामा लाग्न प्रेरित गर्न शिक्षण संस्थामा रेडक्रस गतिविधिहरूको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला स्तरीय जुनियर/युवा रेडक्रस समिति बर्दियाका संयोजक खगेन्द्र प्रसाद खनालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाका सभापति कृष्णप्रसाद गौतम, चुरे क्याम्पस सञ्चालक समिति अध्यक्ष डबल सिंह साउँद, नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखा सभापति यज्ञप्रसाद नेपाल, चुरे क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन सभापति विश्वास शाह लगायतका वक्ताहरूले मानवीय सेवामा जुनियर/युवा सर्कल र विद्यार्थीहरूको भूमिकाको चर्चा गर्नु भएको थियो ।

गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी बर्दियाका सदस्य एवम् पूर्व सभापति महेशचन्द्र गौतमले रेडक्रसको परिचय, रेडक्रस अभियान, विद्यालय स्तरमा रेडक्रस गतिविधि सञ्चालन लगायतका विषयमा जानकारी गराउनु भएको थियो । गोष्ठीले जुनियर/युवा गतिविधि सञ्चालन सम्बन्धी वार्षिक योजना तर्जुमा गर्नुका साथै जिल्ला स्तरीय जुनियर/युवा समितिका सदस्यहरूको चयन समेत गरेको छ । जसमा शिक्षक नायकहरूको तर्फबाट झुपलाल ढकाल र रिता अधिकारी एवम् विद्यार्थीहरूको तर्फबाट महेन्द्र पुरी, मन्दिरा वि.क. लगायत रहनु भएको छ ।

गोष्ठीको अवसरमा नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखाद्वारा आयोजित उपशाखा स्तरीय मानवीय सेवामा जुनियररयुवाको भूमिका विषयक निबन्ध प्रतियोगितामा त्रिभुवन नमुना माध्यमिक विद्यालय भुरीगाऊँका पार्वती सुनार र हार्दिक गड्तौला क्रमश: प्रथम र द्वितीय एवम् जनज्योति माध्यमिक विद्यालय बकुवाका दिनेश रीजाल तृतीय र बबई शिशु मन्दिर माध्यमिक विद्यालय बर्गदाका विमला थारुले सान्त्वना स्थान प्राप्त गरेको नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखा उपसभापति विजया खनालले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजना, ठाकुरबाबा उपशाखाको संयोजन एवम् नेपाल युवा रेडक्रस सर्कल चुरे क्याम्पस बगनाहाको आतिथ्ययतामा आयोजित गोष्ठीको बन्द सत्र चुरे क्याम्पस युवा रेडक्रस सर्कलका उपाध्यक्ष शङ्कर आचार्यको सभापतित्वमा सञ्चालन भएको हो ।

Leave A Reply

Your email address will not be published.