फागुन १३ गते देखि बर्दियामा दादुरा-रुबेला विरुद्धको खोप लगाउने तयारी
खोप अभियानका लागि ९६८ स्वास्थ्यकर्मी र एक हजार ४५२ स्वयंसेवक परिचालित
गुलरिया, बर्दिया : दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर राख्दै सरकारले यही फागुन १३ देखि चैत ७ गतेसम्म ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ । जाजरकोट र पश्चिम रुकुममा भने यो अभियान सञ्चालन हुने छैन ।
पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाउने वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले जानकारी दिनुभयो । फागुन १३ गते देखि बर्दियामा पनि दादुरा रुबेला विरुद्धको खोप लगाइने भएको छ ।
बर्दिया जिल्ला भरीका एक लाख १८ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाउने अभियान सुरु हुन लागेको हो । आठ ओटा नगरपालिकाका करिब एक लाख १८ हजार ५२७ जना १५ वर्ष मुनिका बालबालिकाहरूलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
स्वास्थ्य कार्यालय बर्दियाका अनुसार ९ महिना देखि ५ वर्ष सम्म उमेरका ३१ हजार चार सय ४९ जना र पाँच वर्ष देखि १५ वर्ष मुनिका ८७ हजार ७८ जनालाई खोप लगाइने छ । खोप लगाउनका लागि चार सय ८४ ओट खोप केन्द्र राखिएको छ । खोप अभियानका लागि नौ सय ६८ जना स्वास्थ्यकर्मी र एक हजार चार सय ५२ स्वयंसेवक परिचालन गरिएको छ ।
बर्दिया जिल्लामा विगत एक वर्षमा ७२ जनालाई दादुरा सङ्क्रमण देखिएको थियो । भने नेपाल भरीका १९ जिल्लामा एक हजार तिन सय ४९ जनालाई दादुरा सङ्क्रमण भएको थियो ।