onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

कार्यसम्पादन मूल्याङ्कनमा ठाकुरबाबाले पायो २७ दशमलव ४९ अङ्क

बर्दिया जिल्लाको अङ्क तालिकामा मधुवन पहिलो तथा बढैयाताल अन्तिम स्थानमा

Sambad ADD long

भुरीगाउँ, बर्दिया : कार्यसम्पादन मूल्याङ्कनमा ठाकुरबाबा नगरपालिकाले २७ दशमलव ४९ अङ्क पाएको छ । सङ्घीय सरकारबाट आउँदो आर्थिक वर्ष २०८१/८२ मा प्रदेश र पालिकालाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले १० वटा सूचकका आधारमा प्रदेशहरुको मूल्याङ्कन गरेको हो ।

पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेको लगायतका सूचकमा कार्यसम्पादन मूल्याङकन हुने गर्छ । पालिकाले बजेट १० असारभित्र ल्याए/नल्याएको, ३० असार भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए/नदिएकोलगायत पनि मूल्याङ्कनको आधार हो ।

बर्दिया जिल्लाको अङ्क तालिकामा मधुवन नगरपालिका पहिलो स्थान तथा बढैयाताल गाउँपालिका अन्तिम स्थानमा रहेको छ । मधुवन नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ४३ दशमलव २९ अङ्क प्राप्त गरेको छ । गुलरिया नगरपालिकाले ४० दशमलव ९५ अङ्क प्राप्त गरी दोस्रोे स्थानमा रहेको छ भने राजापुर नगरपालिकाले ३८ दशमलव ०५ अङ्क प्राप्त गरेको छ ।

यस्तै बाँसगढी नगरपालिकाले २८ दशमलव १९ अङ्क प्राप्त गरेको छ भने ठाकुरबाबा नगरपालिकाले २७ दशमलव ४९ अङ्क प्राप्त गरी बर्दिया जिल्लाको स्थानीयतहहरुको सूचीमा पाँचौ स्थानमा रहेको छ । बारबर्दिया नगरपालिकाले २५ दशमलव ३१ अङ्क प्राप्त गर्दा गेरुवा गाउँपालिकाले २३ दशमलव ९३ अङ्क प्राप्त गरेको छ । बढैयाताल गाउँपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा १७ दशमलव ०१ अङ्क प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा ठाकुरबाबा नगरपालिकाको बेरुजु रकम ६ करोड ११ लाख ८० हजार रुपैयाँ रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा प्रकाशित विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Leave A Reply

Your email address will not be published.