मधुवन अपडेट : झाडापखालाबाट बिरामी झन्डै ९५ जना मध्ये अझैँ ९ जनाकाे उपचार हुँदै
बासी खाना खाएका कारण ‘फुड पोइजनिङ’ भएको स्वास्थ्यकर्मीको भनाई
मधुवन, बर्दिया : मधुवन नगरपालिका–९, गर्भुटोल गाउँमा बान्ता आउने र पखाला लाग्ने समस्याका कारण बिरामी भएकाहरू मध्ये ९ जनाको अझैँ उपचार भइरहेको छ । झाडा पखाला लागेर बिरामी भएकाहरू मध्ये ५ जनाको नेपालगन्जमा र ४ जनाको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले जानकारी दिनुभयो ।
बाँकेको नेपालगन्जमा उपचार गराइरहेकाहरू मध्ये एक जनाको नेपालगन्ज मेडिकल कलेजमा र चार जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । थारु सङ्ग्रहालयको अवलोकनका लागि मधुवन नगरपालिका–९ को गर्भुटोल गाउँका ४१ जनाको समूह गएको शुक्रवार दाङ गएको थियो । अवलोकन भ्रमणमा जाँदा उनीहरूले घरबाटै मासु लगायतका परिकार लगेका र बाँकी बचेको खाना घरमा आएर खाएपछि भोलिपल्टदेखि बिरामी परेका वडा नम्बर ९ का अध्यक्ष हर्क बस्नेतले जानकारी दिनुभयो ।
मधुवन नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट आइतबार दिउँसो गाउँमै पुगेका स्वास्थ्यकर्मीले उपचार सुरु गरे पनि नगर प्रमुख तेज बहादुर भाटसहितको टोली गाउँमा राती पुग्दासमेत बान्ता आउने र पखाला लाग्ने समस्या नरोकिएपछि आइतबार राती नै एम्बुलेन्समा जिल्ला अस्पताल गुलरिया लगिएको मधुवन नगरपालिकाका प्रवक्ता मेघ बहादुर गरुङ्गले जानकारी दिनुभयो । भ्रमण गएकाहरूसँगै उहाँहरूका घरपरिवार तथा आफन्तहरूसहित झन्डै ९५ जनालाई झाडा पखाला लागेको थियो । जिल्ला अस्पताल गुलरियामा लगिएकाहरू मध्ये अधिकांश बिरामीहरू डिस्चार्ज भएर घर गइसकेका छन् ।
जिल्ला अस्पतालमा ४ जनाको उपचार भइरहेको छ भने जटिल समस्या भएका ५ जनालाई नेपालगन्ज रिफर गरिएको छ । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार बान्ता आउने र पखाला लाग्ने समस्या भएका बिरामीहरूले बासी खाना खाएका कारण ‘फुड पोइजनिङ’ भएको बताउनुभयो ।